काठमाडौं – सरकारले लमजुङका चार स्थानीय तहका सडक निर्माण तथा स्तरोन्नतिका लागि थप २७ करोड बजेट उपलब्ध गराएको छ । सहरी विकास मन्त्रालयले जिल्लाका आठ वटा सडकका लागि थप बजेट विनियोजन गरेको हो ।
राइनास नगरपालिकाअन्तर्गत तीन सडक, बेसीसहर नगरपालिका अन्तर्गत दुई सडक, मध्यनेपाल नगरपालिकाअन्तर्गत दुई सडक र मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत एउटा सडकका लागि थप बजेट विनियोजन भएको हो । जसमध्ये राइनासको वडा नम्बर ४ मा रहेको रेडक्रस भवनदेखि महिला सञ्जाल भवन हुँदै पन्तगाउँ बुढीखोलासम्मको सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, राईनास नगरपालिकाअन्तर्गत वडा नम्बर १० को प्यारजुङ भञ्ज्याङदेखि सिर्जनशीलता आमा समूह भवन हुँदै देवीस्थानसम्मको सडक स्तरोन्नतिका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । राईनास–१, अन्तर्गत साहिलीटार–मजुवा–आठस्वारा हुँदै प्यारजुङको कोकेगाउँ जोड्ने सडक स्तरोन्नतिका लागि पनि तीन करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बेसीसहर नगरपालिकाअन्तर्गत वडा नम्बर ५ को नाल्मा लाकुरीडाँडादेखि दोसाँधहुँदै विम्दा सडक स्तरोन्नतिका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । बेसीसहरकै वडा नम्बर १० अन्तर्गत बाँझाखेत राउत ठाँटीहुँदै वडा कार्यालय जाने सडक स्तरोन्नतिका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।
मध्यनेपाल नगरापालिकाअन्तर्गत वडानम्बर ४ को दुईपिप्लेदेखि समिम भन्ज्याङ हुँदै तान्द्राङ–क्सार सडक स्तरोन्नतिका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ भने मध्यनेपालकै वडा नम्बर १० अन्तर्गत थान्सिङ नेटा हुँदै सुन्दरबजारको दुराडाँडा जोड्ने सडकका लागि थप तीन करोड ६० लाख बजेट विनियोजन भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत वडा नम्बर ५ को घेर्मु लिलीभिर सडक निर्माणका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।
FACEBOOK COMMENTS