काठमाडाैं । अमेरिकी जलसेनाका जहाज र विमान आगामी दुई हप्ता ताइवान जलसन्धि हुँदै जाने घोषणा ह्वाइट हाउसले गरेको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले ताइवान जलसन्धिमा चीनले गरिरहेको युद्धाभ्यासको निन्दा गर्दै रक्षा मन्त्रालयले यूएसएस रोनल्ड रेगन नामक विमानवाहक युद्धपोत पठाउने निर्णय लिएको बताए ।
उक्त युद्धपोत र स्ट्राइक ग्रुपले ताइवान नजिक बसेर परिस्थितिको निगरानी गर्नेछ । अहिलेसम्म युद्धपोत र स्ट्राइक ग्रुप जापानमा थिए र हालैका दिनमा तिनलाई पूर्वी चीन सागरमा तैनाथ गरिएको छ । अमेरिकी सभामुद न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि रिसाएको चीनले ताएवान जलसन्धिमा सघन युद्धाभ्यास गरिरहेको हो ।
तनाव बढेपछि अमेरिकाका राष्ट्रपति जो बाइडनले विमानवाहक युद्धपोत अझै केही समय ताइवान नजिक रहनु उपयुक्त हुने बताए ।
यसैबीच अमेरिकाको वायुसेनाले मिनटम्यान तेस्रो अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको पूर्वनिर्धारित परीक्षण स्थगित गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । तर निकट भविष्यमा परीक्षण गर्ने र अमेरिकाको आणविक निवारण सुरक्षित तथा प्रभावकारी रहेकोमा कर्बीले जोड दिए ।
FACEBOOK COMMENTS