काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । यातायातले पाटनढोका-दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।
साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधारले चाजिङ स्टेशन बनाउन कार्यविधि नबन्दा अझै ३४ वटा बस सञ्चालनमा ल्याउन नसकिएकाे बताए ।
उनले भने, ‘आज देखि थप ३ वटा बस सञ्चालनमा आउँदै छ । अन्य बस चाजिङ स्टेशन नहुदाँ सञ्चालनमा ल्याउँन सकेका छैनैँ । आज सञ्चालनमा आएको बसलाई पनि पहिलाकै २ वटा चार्जरबाट सञ्चालनमा ल्याउन लागेका हौँ ।’
साझा यातायातले ४० वटा बिजुली ल्याएकोमध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो । सोमबारदेखि थप ३ वटा बस सञ्चालनमा आउन लागेको हो ।
साझाको यातायातले ०७९ असार २३ गते देखि विद्युतीय सवारी साधन सञ्चालनमा ल्याएको थियो । चीनबाट पहिलो चरणमा तीन थान बस ल्याएर सञ्चालनमा ल्याएको थियो ।
संस्थाले ०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो ।
सीएचटीसीएचओसँग साझाले प्रति बस करिब डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो। ४० वटा बसमा करिब ६१ करोड रुपैयाँ खर्च गरेको छ।
उक्त सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ। सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मत सम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ थप प्रदान गर्ने भनिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो। उक्त निर्णय पश्चात् साझा यातायातलाई विद्युतीय बस किन्नको लागि सरकारले सुरुमा तीन अर्ब रुपैयाँ दियो। रकम सरकारले सेयरको रुपमा लगानी गरेको थियो। सरकारले ०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो।
तर बस किन्ने प्रकिया ढिला गरेको भन्दै सरकारले ०७६ माघमा ब्याजसहित फिर्ता मागेको थियो। तर साझाले सेयर फिर्ता नहुने अडान लिएपछि सरकारले माघ ०७७ गते विद्युतीय बस किन्न दिने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात् साझाले ०७७ चैत १३ गते खरिद प्रकियाका लागि बोलपत्र आव्हान गरेको थियो।
बिजुली बसको इतिहास
नेपालमा विद्युतीय सवारी साधन चल्न सुरु भएको इतिहास हेर्ने हो भने चार दशक पुरानो छ । सन् १९७९ मा काठमाण्डौमा ट्रली बस सञ्चालन सुरु भएको थियो, यद्यपि यो अहिले बन्द छ । सन् १९९३ देखि सार्वजनिक यातायातको रुपमा सञ्चालन हुन लागेको सफा ट्याम्पोको इतिहास पनि लामो छ तर यसलाई विशेष प्राथमिकता दिन नसक्दा अहिले विद्युतीय सवारी साधनको संख्या न्यून नै छ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी ०७६ सालको नयाँबर्ष बाट काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने बताएका थिए।
संघीय सरकारमा मात्र होइन, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा आगामी १० वर्ष भित्र अर्थात ०८५ सालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौँडा, बनेपा, धुलिखेल र पनौती लगायत सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाएर विद्युतीय सवारी साधन चलाउने घोषणा गरेका थिए । घोषणा गरे अनुसार बागमती प्रदेश सरकारले पनि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न सकेको छैन।
त्यसपछि काठमाडौँमा पहिलो पटक ०७६ साल भदौ महिनामा सुन्दर यातायात कम्पनी प्रालिले काठमाडौं उपत्यकामा दुई वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो। उक्त बसको उद्घाटन तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। त्यस बिजुली बसमा मोबाइलबाट क्युआर कोड स्कयान गरेर पनि रकम भुक्तान गर्न सकिने कम्पनीले जनाएको थियो।
तर ०७९ माघ महिनामा सुन्दर यातायातले बिजुली बसमा नेपाल प्राधिकरणले डिमान्ड शुल्क नहटाएको भन्दै सेवा बन्द गराएको थियो भने उक्त डिमान्ड शुल्क प्राधिकरणले सच्चाएर फेरी पुन माघ महिनामै यातायातलाई पत्र पठाएको थियो। त्यसपछि अहिले सुन्दर यातायातको बिजुली बस काठमाडौँमा सञ्चालनमा आइ रहेको छ।
FACEBOOK COMMENTS