काठमाडौं । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले देशका धेरै शक्तिशाली राजनीतिज्ञ र धनी व्यक्तिहरू क्रिसमससम्ममा जेल पर्ने बताएका छन् ।
फर्डिनान्ड मार्कोस जुनियरले बाढी नियन्त्रण परियोजनाहरूसँग सम्बन्धित घोटालाका कारण कम्तीमा ३७ शक्तिशाली सांसदहरू, कांग्रेसका सदस्यहरू र धनी व्यवसायीहरूलाई क्रिसमससम्ममा जेल हालिने दाबि गरेका हुन् ।
उनले यो बयान जनताको आक्रोश र सडक विरोधलाई शान्त पार्ने प्रयासमा दिएका हुन् । मार्कोस जुनियरले गठन गरेको स्वतन्त्र आयोगले ३७ संदिग्धहरूविरुद्ध फौजदारी मुद्दा दायर गरेको छ ।
ती मुद्दाहरू घसुखोरी, भ्रष्टाचार र लुटपाट जस्ता गैर–जमानती अपराधहरूका लागि दायर गरिएको छ । उनले ८६ निर्माण कम्पनीका कार्यकारीहरू र नौ सरकारी अधिकारीहरूविरुद्ध पनि फौजदारी मुद्दा दायर गरिएको छ । उनीहरूमाथि कर छलीमार्फत लगभग १५२ मिलियन अमेरिकी डलर हिनामिना गरेको आरोप छ ।
राष्ट्रपति मार्कोस जुनियरले भने, ‘मलाई थाहा छ, क्रिसमसअघि उनीहरूविरुद्ध विचाराधीन मुद्दाहरू रहेका सबैलाई समाप्त गरिनेछ र उनीहरूलाई जेल हालिनेछ । हामी देखाउनको लागि मुद्दा दायर गर्दैनौं । हामी मानिसहरूलाई जेल हाल्न मुद्दा दायर गर्छौं ।’

उनले सरकारको सम्पत्ति शुद्धीकरणविरोधी परिषद्ले भ्रष्टाचारको आरोप लागेकाहरूबाट १६७१ बैंक खाता, १४४ सम्पत्ति, २४४ सवारीसाधन र १०७ मिलियन अमेरिकी डलर बराबरको अन्य सम्पत्ति जफत गर्ने सात आदेश जारी गरेको बताएका छन् । उनले कोही पनि अनुसन्धानबाट उम्कन नपाउने र कसैलाई पनि छुट नदिने बताए ।

देशभरि भ्रष्टाचारको दोष कमजोर, दोषपूर्ण वा अवस्थित नभएको बाढी नियन्त्रण परियोजनाहरूमा लगाइएको छ । फिलिपिन्समा आँधी र त्यसपछि आउने बाढी संवेदनशील मुद्दा हो, साथै फिलिपिन्स घातक आँधीबेहरी, बाढी र चरम मौसमबाट सबैभन्दा बढी प्रभावित एसियाली देशहरूमध्ये एक हो ।

गत हप्ताको कालमेगी आँधीले फिलिपिन्समा कम्तीमा २३२ जनाको ज्यान लियो, जसमध्ये धेरैजसो बाढीको शिकार भएका थिए । देशको मध्य भागमा १२५ जना अझै बेपत्ता छन् ।

त्यसको केही दिनपछि फङ–वोङ आँधीले उत्तरी फिलिपिन्समा विनाश मच्चायो, २७ जनाको मृत्यु भयो । फङ–वङ आँधीका कारण आएको बाढी र पहिरोले लाखौं मानिसहरूलाई असर गरेको छ भने दुई जना बेपत्ता भएका छन् ।
FACEBOOK COMMENTS