काठमाडौँ । भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिएको छ ।
क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको हो ।
प्रत्येक मङ्गलबारको बिहान भक्तजनहरूको चाप बढी हुने भएकाले प्रत्येक मंगलबार शिविर राख्ने योजना अनुसार शिविर भएको हो । यसरी भएको यो दोश्रो शिविर हो ।
शिविर मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म तिन घण्टा भएको थियो । क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक सन्तोष पौडेलले विभिन्न उमेर समूहका ४४ जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएको जानकारी गराए ।
गलत खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाव जस्ता कारणहरूले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गरेको विभिन्न सर्वेक्षणहरूले देखाउने गरेको छ । समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरू तथा जटिल रोगको शिकार हुन नपर्ने सम्बन्धित चिकित्सकहरू बताउँछन् ।
कम खर्चमा व्यवहारिक तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रामदेवी कम्प्लेक्स्, गपली सूर्यविनायकमा सञ्चालित क्लिनिक वान भक्तपुरले यस प्रकारका सेवाहरू भक्तपुरका अन्य स्थानहरूमा पनि विस्तार गर्दै लाने बताएको छ ।
FACEBOOK COMMENTS