काठमाडौं । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत नहुँदा ५ लाख घरपरिवारलाई ५ अर्ब दशैंअघि नै वितरण गर्ने सरकारी कार्यक्रम प्रभावित भएको छ ।
चालू आर्थिक वर्ष २०७८–७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो ।
यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले अर्थमन्त्रीको प्रस्तावलाई पास गर्न सकेन ।
करीब ५ लाख गरीब घरपरिवारलाई १० हजारका दरले रकम वितरण गर्ने योजनाका साथ अर्थ मन्त्रालयले कार्यविधि तयार गरी प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पु¥याए पनि दशैं सकिएको १ हप्तासम्म सरकारले कार्यक्रम लागू गर्न सकेको छैन ।
दशैंअघि नै कार्यक्रम लागू गरेर रकम वितरण गर्न अर्थमन्त्री शर्माले जोडबल गरे पनि कार्यविधि अस्पष्ट भएको भन्दै प्रधानमन्त्रीले त्यसबारे छलफल गर्न नचाहेको स्रोतको भनाइ छ ।
अर्थ मन्त्रालयका प्रवक्ता रीतेश शाक्यले मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन नसक्दा दशैंअघि नै कार्यक्रम लागू गर्न नसकिएको बताए । उनका अनुसार कार्यविधि स्वीकृत हुनासाथ कार्यक्रम लागू हुनेछ । ‘यसबारे मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका छौं,’ उनले भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रकम वितरणका लागि सरकारले राष्ट्रिय योजना आयोगको तथ्यांकलाई आधार मान्न खोजेको थियो । तर, योजना आयोगसँग कोभिडपूर्वको मात्रै तथ्यांक छ । कोभिडबाट परेको असरबारे आयोग अध्ययन गर्ने बताउँदै आए पनि अहिलेसम्म ठोस प्रतिवेदन बाहिर ल्याउन सकेको छैन ।
योजना आयोगले कोभिडअघि गरेको अध्ययनमा आधारित तथ्यांक गतवर्ष कोभिड महामारीको बीचमा सार्वजनिक गरेको थियो । उक्त अध्ययनअनुसार नेपालमा ५० लाख व्यक्ति बहुआयामिक गरीबीको रेखामुनि रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS