काठमाडौं – श्रमिकका लागि योगदानका आधारमा ‘सामाजिक सुरक्षा योजना’ ३ महिना भित्र लागू गरिने भएको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने योगदानमा आधारित यो योजना सरकारले आगामी मङ्सिर ११ गतेदेखि लागू गर्न अन्तिम तयारी गरेको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।
मातृत्व सुरक्षा योजनाका लागि १८ महीनाको अवधिमा १२ महीना योगदान गरिसकेको हुनुपर्ने छ ।
औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत औषधोपचार तथा स्वास्थ्य सेवाको सुविधा पाउन ६ महीना योगदान गर्नुपर्ने छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट पाउन सकिने छ । तर, प्राकृतिक विपत्तिको कारण दुर्घटना भएमा वा सडक दुर्घटना भएमा वा अन्य बीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा कोषको योजनाबाट त्यस्तो सुविधा पाउने छैनन् ।
रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सबै खर्च योजनामा समावेश भएको छ । तर, व्यवसायजन्य रोगको उपचार गर्न २ वर्षसम्म योगदान गरेको हुनुपर्ने छ ।
रोजगारजन्य दुर्घटनाबाहेक अन्य दुर्घटना भएको अवस्थामा ७ लाख रुपैयाँसम्मको उपचार खर्च पाउन सक्नेछन् ।
योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई प्राप्त हुने सुविधाअन्तर्गत निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिक रूपमा जीवित रहेसम्म निवृत्तिभरण(पेन्सन) र निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिकवृत्ति पाउने व्यवस्था छ ।
यसैगरी योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोराछोरी कोही पनि नभएको अवस्थामा निजको आश्रित बाबुआमालाई मासिक ६० प्रतिशत रकम जीवित रहेसम्म दिइने व्यवस्था रहेको छ ।
योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता जीवित रहेसम्म निवृत्तिभरणको व्यवस्थासमेत गरिएको छ ।
योजनामा योगदानका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्छ ।
FACEBOOK COMMENTS