काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालको आन्तरिक मामिला भन्दै थप टिप्पणी नगर्ने जनाएका छन् । उनीहरूले प्रतिनिधिसभा विघटनका विरुद्धमा केही नभनी आन्तरिक मामिला भएकाले आन्तरिक रूपमै समाधान खोज्नुपर्ने बताएका छन् ।
सत्तारूढ दल नेकपामा भएको विभाजनपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विषयलाई दुईवटै छिमेकी राष्ट्रले असंवैधानिक कदम भन्दै विरोध गर्नुपर्ने चाहना व्यक्त गरे पनि दुवै छिमेकी राष्ट्र नेपालको आन्तरिक मामिला भन्दै पन्छिएका हुन् । यसले दाहाल–नेपाल समूहलाई झस्काएको छ ।
प्रतिनिधिसभा विघटन भएको पाँच दिनपछि भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संसद् विघटनलगायतका निर्णय नेपालको आन्तरिक मामिला भएको भन्दै निर्णय गर्ने अधिकार पनि नेपालमै रहेको बताएका थिए ।
उनले नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको र नोट गरेको बताएका थिए । श्रीवास्तवले प्रतिनिधिसभा विघटनको विषयलाई नेपालले लोकतान्त्रिक विधिबाटै हल गर्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
भारतले प्रतिनिधिसभा विघटनलाई आन्तरिक मामिला भएको बताइरहेको बेला चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली नेपाल आएको थियो । सो टोलीले पनि विभिन्न पक्षसँग भेट गरेपछि प्रतिनिधिसभा विघटनको विषय नेपालको आन्तरिक मामिला भएको ठहर गर्दै यस विषयमा थप टिप्पणी नगरेको बताइएको छ ।
प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजनको संघारमा पुगिरहेको बेला चिनियाँ टोली नेकपाको एकता कायम राख्न भन्दै १२ पुसमा काठमाडौं आइपुगेको थियो । काठमाडौं उत्रिएलगत्तै सो टोलीले सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।
त्यसलगत्तै टोलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग भेट गरेको थियो । त्यति नै बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्टीकरण दिएका थिए । साथै नेपालको राजनीतिक संकट आन्तरिक मामिला भएको प्रवक्ता चाओले बताएका थिए ।
बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा त्यहाँको विदेश मन्त्रालयका प्रवक्ता च्येनलले घुमाउरो हिसाबमा नेपाल लक्षित गर्दै भनेका थिए, ‘आपसी राजनीतिक विश्वास बढाउन, सरकार–सरकारबीचको मित्रतालाई गहन पार्न र सरकारहरूबीच व्यावहारिक सहयोग प्रवर्धन गर्न नेपालमा यो भ्रमण भएको हो ।’
-निराजन पौडेल ,राजधानी दैनिक
FACEBOOK COMMENTS