काठमाडौँ । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबीच शहरी विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसहितको टोली धुलीखेल पुगेर शहरी विकासमा सझेदारीका विषयमा छलफल गरेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए। उनले भेटमा दुई नगरपालिकाको विकास निर्माण र दुई शहरबीच अनुभव आदान प्रदान गरिएको जानकारी दिएका छन्।
नेपाल नगरपालिका संघसँग एमयुएनए र विश्व नगर सरकार र शहरहरुको संगठन (युनाइटेड सिटी लोकल गभरमेन्ट) यूसीएलजी एसप्याक्टबीच पारस्पारिक साझेदारी, समन्वयात्मक प्रबर्धन गर्न धुलिखेल नगरपालिकामा भेटघाट भएको नगरप्रमुख ब्याञ्जुले जानकारी दिए। धुलिखेल नगरको निमन्त्रणामा पुगेका बालेनसहितको काठमाडौँ महानगरपालिकाको टोलीसँग उक्त नगरपालिकाले हालसम्म हासिल गरेको उपलब्धी, काम गर्ने तरिका सेयर गरेको पनि मेयर ब्याञ्जुले जानकारी दिएका छन्।
यस्तै, काठमाडौँ महानगरले गर्दै आएको कामका बारेमा पनि आफूले जानकारी लिएको उनको भनाइ छ। यूसीएलजीको अध्यक्षसमेत रहेका ब्याञ्जुले आफ्नो नगरपालिकामा दिगो विकासका लक्षहरुमध्ये ४ वटा लक्ष प्राप्त गरिसकेको र कसरी भयो भन्ने बारेमा पनि कामनपाको मेयर शाहसँग छलफल गरेको जानकारी दिए।
FACEBOOK COMMENTS