काठमाडौँ । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेसँगै नाफा प्रभावित हुन पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा जम्मा २.३२ प्रतिशत रहेको बैंकको खराब कर्ताको दर अहिले बढेर ४.३५ प्रतिशत पुगेको छ ।
जसका कारण बैंकको इम्पेयरमेन्ट चार्ज (प्रोभिजनिङ) २ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ ।
कृषि विकास बैंकको निक्षेप संकलन ५१.०४ प्रतिशतले घट्दा कर्जा लगानी भने २.५५ प्रतिशतले बढेको छ ।
जसका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा समेत ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो वितरणयोग्य नाफा २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS