२०७७ भाद्र १ गते उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्धक पदको लागि आवेदन खुल्यो । ९ जना अन्य प्रतिष्पर्धीलाई आफ्नो योजना, प्रस्तुतीकरण र अन्तर्वार्ताको माध्यमबाट पछि पारेर मन्त्रीपरिषद्को निर्णयानुसार मिति २०७७ माघ १ गते महाप्रबन्धक रिक्त रहेको करीब २ बर्ष पछि सो पदमा गोपीकृष्ण न्यौपानेले पदभार ग्रहण गरे । उनी उद्योग स्थलमा पुग्दा कोइला, जिप्सम, आइरन ओर मात्रै होइन रातोमाटोको समेत अभावमा उद्योग बन्दप्राय: अवस्था थियो । उनले जसोतसो सबैको सहयोगमा उद्योग संचालन गरे ।
उद्योगको तत्काल तिर्नुपर्ने चालू दायित्व रु. ६५ करोड भन्दा बढी नै थियो । पुस अगाडि सेवा निवृत्त भएका जना कर्मचारीले उपदान र औषधि उपचारको खर्च बापत पाउनुपर्ने सुबिधा पाएका थिएनन । राजस्व बांकी थियो, पार्टीहरुलाई करोडौं रकम तिर्न बांकी थियो । त्यसमा समेत माघ देखि बिक्रि गरि कोष व्यवस्थापन गरि क्रमश: आंशिक भुक्तानी गरि नियमित संचालन गर्न श्री न्यौपाने सफल भए ।
लोडसेडिङको समयमा वरिपरिका बासिन्दालाई दिएको उद्योगको विद्युत लाइन लोडसेडिङ अन्त भएपछि पनि फेर्न नसक्दा उद्योगले मासिक ४ लाख बराबरको बिद्युत डिमाण्ड शुल्क तिरिरहेको थियो । श्री न्यौपाने महाप्रबन्धक भएर आएपछि यस अघिका जिएमले अनेक प्रयास गर्दा पनि बिद्युत लाइन फेर्न नसकेकोमा उद्योगको लाइन छुटाएर उद्योगको मासिक ४ लाखको खर्च बचत गरेका छन । साधारण कोटेशनबाट खरिद गर्ने प्रथाको लगभग अन्त्य भएको छ भने मागफाराम र जाँच पास पनि बिभागीय प्रमुखले सिधै पास गराउदा हुनसक्ने अनियमितता रोक्न बिभागीय प्रमुख, महाशाखा प्रमुख, डिजिएम हुँदै महाप्रबन्धकले स्वीकृति गर्ने व्यवस्था मिलाइएको छ ।
उद्योगको नामको लीलाम भएर गएको २ कठा १७ धुर समेत रोक्का रहेको ३३ बिघाह जग्गा फुकुवा गरेर ल्याउन कानुन व्यवसायी समेत रहेका महाप्रबन्धक न्यौपानेको महत्त्वपूर्ण भूमिका रहेको छ ।
२९ बर्ष पुरानो उद्योग भएकोले यसको मर्मत संभार मूख्य समस्याको रुपमा पहिचान गरेका न्यौपानेले नियमित मर्मतसम्भार गर्दै उद्योग संचालन गरेर उत्पादन गरिरहेको भएतापनि उद्योग पूर्ण क्षमतामा संचालन गर्न सेफ नै बिग्रेको क्लिन सेल २० मिटर फेर्नुपर्ने र रिइन्फोर्सनेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि केही मेसिन औजार फेर्न सके उद्योगको हालको दैनिक क्षमता ३ सय मेट्रीक टन बढन गइ ११ सय मेट्रीक टन पुग्ने भएकोले उद्योगको ब्रेकडाउन समय कटाउदा पनि औषत हालको क्षमता दैनिक ८ सय मेट्रीक टन उत्पादन हुनसक्ने उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी गराएका छन । यस तर्फ महाप्रबन्धक न्यौपानेले विशेष ध्यान दिई २० मिटर क्लिन सेल फेर्न रु. ६ करोड ८ लाखमा टेण्डर प्रक्रियाद्वारा सम्झौता सम्पन्न गरिसकेका छन भने आरएसपी जडानका लागि अध्ययन गराई तीन बर्ष भित्र तिरिसक्ने गरि नेपाल सरकार संग रु. ४० करोडको ऋण सहयोग माग गरेका छन ।
उद्योग भित्र महाप्रबन्धक प्रवेश गर्दा विभिन्न तहका १५ जना कर्मचारीले बिदाको रकम, उपदान रकम र औषधि उपचार खर्च पाएका थिएनन, माघ पछि ती कर्मचारीहरुले पाउने सुबिधा बापत रु. ५ करोड ५० लाख भुक्तानी गरेको आर्थिक प्रशासन महाशाखा प्रमुख कमल पौडेल बताउछन । मंसिरदेखिको तलव ओटी बांकी थियो, २०७७ असार देखिको कर्मचारी संचयकोष, नागरिक लगानी कोष गएको थिएन, त्यो सबै भुक्तानी महाप्रबन्धक न्यौपाने आएपछि भएको हो, प्रवक्ता लक्ष्मण पोखरेलले बताए । उनले थप स्पष्ट पार्दै भनेका छन, पूर्व का. मु. महाप्रबन्धकको पालाको बांकी रहेको १ बर्ष देखि अबकाश पाएका कर्मचारीको भुक्तानी गर्दै जांदा श्री न्यौपानेको पालामा अवकास पाउने कर्मचारीहरुको भुक्तानी हुन नसकेको यथार्थ हो तर नगद प्रवाह उपयुक्त हुनासाथ कर्मचारीको भुक्तानीलाई पहिलो प्राथमिकतामा राखिने उनले बताए ।
साउन भदौको बर्षायाममा बिगत बर्षहरुमा क्लिंकर उत्पादन हुने गरेको थिएन, तर यसपटक उत्पादन भएको भएतापनि बर्षाको कारण बिक्री कम भएकोले नियमित खर्च गर्न समेत धौ धौ परिरहेका बेला कर्मचारीको दशैं खर्च, लुगा भत्ता, ओटी, बिदा मुआब्जा आदि बापतको लगभग ६ करोड भुक्तानी समयमै भएको छ, यो खुसीको कुरा हो, प्रवक्ता पोखरेलले भने ।
२०७७ पुस अगाडिको चालु दायित्व करीब ३२ करोड रुपैयाँ भुक्तानी हुंदा बैशाख २०७८ पछि अवकाश पाउने कर्मचारीको भुक्तानीमा केही ढिलाइ भएको हो तर पुस अगाडि जसरी लामो समय सम्म क्यूमा बस्नुपर्ने अवस्था थियो, पछिल्लो समयमा अवकाश पाउनेले त्यति धेरै कुर्नु नपर्ने पोखरेलले बताए । अहिले पनि झण्डै २५ करोडको सिमेन्ट स्टक छ, मंसिरदेखि सिजन शुरु हुनासाथ बिक्रि हुने र नगद प्रवाहमा समस्या नहुने पोखरेलले जानकारी दिए । हरेक बर्ष उपदान कोषमा रकम जम्मा गरिदिएको भए यस्तो समस्या नै आउने थिएन, अहिले अवकाश पाउनेको संख्या ह्वात्तै बढेको छ, बिगत बर्षहरुमा कोषमा दाखिला गर्नुपर्ने दायित्त्व दाखिला नगरेकोले नै अहिले त्यो बेला उपल्लो दर्जामा रहेका कर्मचारीहरुको पनि भुक्तानी हुन नसकेको हो । अहिले सबै कर्मचारीको उपदान कोष र औषधि उपचारको दायित्व रु. १ अरब भन्दा बढी रहेको छ, यस अघि बर्षैपिच्छे कोषमा रकम जम्मा नहुदा अहिले एक्कासी भार परेको छ । तर अब सिमेन्ट बिक्रि हुँदै गर्दा कोषमा रकम जम्मा गरिने र क्रमश: मृत्यु भैसकेका कर्मचारीहरुका हकदारलाई पहिलो प्राथमिकतामा राखी अन्य अवकाश प्राप्त कर्मचारीलाई क्यूमा राखेर क्रमश: भुक्तानी गर्दै जाने उद्योगको नीति रहेको देखिन्छ । दशैको ठीक अगाडि अवकाश हुनेको हकमा बिदा पेश्की बापत भएपनि केही रकम दिएर पठाइएको जनाइएको छ ।
उद्योगले चालू आर्थिक बर्षको श्रावण, भाद्र र आश्विनको त्रैमासिक बिक्री लक्ष्य ३,१४,८६० बोरा रहेकोमा साउनमा १,०७,९६२ बोरा, भाद्रमा ९३,७२० बोरा र असौजमा १,१४,२२९ बोरा बिक्री गरि कुल ३,१५,९३१ बोरा बिक्री गरि शतप्रतिशत भन्दा बढी लक्ष्य हासिल गर्न सफल भएका छन ।
आन्तरिक लेखापरीक्षण, इआरपी अपग्रेडेसन, आ. ब. २०६३/६४ देखि आ. ब. २०७६/७७ सम्म १४ बर्षको बार्षिक साधारण सभा सम्पन्न, बर्षौ देखि थुप्रो रहेको पत्रु लीलाम बिक्री, २० मिटर क्लिन सेल चेन्ज गर्न टेण्डर गरि सम्झौता सम्पन्न, आरएसपी जडानका लागि अध्ययनलाई तिव्रता, अनावश्यक दरबन्दी कटौती गरि ६१३ दरबन्दीबाट ५३३ मा झार्न सफलता मिलेको, कर्मचारीलाई दिनुपर्ने नियमित सुबिधा समयमै उपलब्ध गराएको, बिमाको कमिशन कर्मचारी कल्याण कोष खातामा जम्मा, औद्योगिक वातावरण निर्माण गर्दै सबै कर्मचारीलाई समान व्यवाहार जस्ता कामहरू श्री न्यौपाने महाप्रबन्धक भएर गएपछि सुसासनका दृष्टिले महत्त्वपूर्ण कार्यहरू भएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताए । उनका अनुसार अशोक मल्ल पछि अहिलेसम्मकै उत्कृष्ट महाप्रबन्धक पाएको बताउदै उद्योग यसरी नै संचालन भैरह्यो भने मात्रै अबको केही बर्षमा अबकाश हुने हामी कर्मचारीहरुले औषधि उपचार र उपदान लिएर जान पाउने भएकोले उद्योगका क्रियाशिल तीनवटै उद्योगका पदाधिकारी लगायत सम्पूर्ण कर्मचारीहरुले मनैदेखि महाप्रबन्धक न्यौपानेको साथ दिएका छन । आर्थिक अबस्था अत्यन्त जटिल थियो, तलब सुबिधा, बिमाको रकम, संचयकोष, उपदान, नागरिक लगानी कोष समेत बिगत ७ महिना देखि २०७७ पौष सम्म करोडौं बांकी थियो तर महाप्रबन्धक न्यौपाने आएपछि सबैभन्दा पहिलो प्राथमिकता कर्मचारीको सेवा सुविधा भुक्तानी गरि नियमित गरेका छन । २०७८ सालको दशैमा मात्रै तलव, बिदा मुआब्जा, ओटी, दशै खर्च, लुगा भत्ता गरि करीब ६ करोड त कर्मचारीलाई मात्र भुक्तानी गरेको जनाइएको छ ।
उद्योगको खानीमा रहेको गुणस्तरीय चूनढुंगाको उपयोग गरि उदयपुर सिमेण्ट उद्योग र उदयपुरबासीकै हित हुनेगरी उद्योगको क्षमता बिस्तार गर्न आवश्यक पर्ने पूंजीको स्रोत जुटाईने तर्फ समेत महाप्रबन्धक न्यौपानेले अध्ययन गरिरहेको बुझिएको छ । महाप्रबन्धक न्यौपाने ब्यवस्थापन तथा कानुन विज्ञ भएको र लामो समय बैकको संचालक भइ काम गरेका अनुभवी व्यक्तित्व भएकोले उनलाई यस किसिमको काममा सहजता समेत भएको जनाइएको छ ।
FACEBOOK COMMENTS