कार्तिक १० काठमाडौं ।
विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नयाँ दर बाट करिब २२ लाख ग्राहकले लाभ लिने आायोगले जनाएको छ ।
आगामी मंसिरदेखि लागू हुनेगरी आयोगले नयाँ महशुल दर कायम गरेको हो । बुधबार पत्रकार सम्मेलनमार्फत् नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको जनाएको छ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।
आयोगले २० युनिटसम्मलाई पहिलो स्ल्याबका रुपमा वर्गीकरण गरेको छ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्म गरि विभिन्न स्ल्याब कायम गरेको छ ।
महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको जनाइएको छ भने १०१ युनिट भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म महसुल कम भएको छ ।
यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई फाइदा पुर्याएको छ ।
४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ तोकिएको छ ।
ट्युबेल संचालन गर्ने उपभोक्ता तथा सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाईएको आयोगले जनाएको छ । नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ भने अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाइएको छ ।
FACEBOOK COMMENTS