काठमाडौं । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा देखिएको छ । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपालमा विदेशी विनिमय डेरिभेटिभको अवस्था यस्तो देखिएको हो ।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय डेरिभेटिभ बजार सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले उक्त अध्ययनको प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको हो ।
अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गरेको छ । साथै, डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे पनि विश्लेषण गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारे पनि विश्लेषण गरिएको छ ।
अध्ययनले विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने पनि औंल्याएको छ । हालको ओभर दि काउन्टर (ओटीसी) बजारलाई सहजता प्रदान गर्न र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न दीर्घकालन रूपमा फर्वार्ड, स्वाप्स र विकल्पहरूलाई प्रवद्र्धन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसार दक्षिण एशियाको देशहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । नेपालको हकमा भने प्रारम्भिक अवस्थामा नै रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालका सबै वाणिज्य बैंकहरू फरवार्ड मार्केटमा संलग्न नरहेको देखिएको छ । आधाजसो बैंकहरू भने स्वाप्स कारोबारमा संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ । वाणिज्य बैंकहरूले २०२० मा २ खर्ब २८ अर्ब ९४ करोड बराबरको यस्तो कारोबार गरेका छन् । २०२० मा सामान्य रूपमा मात्र यस्तो कारोबार बढेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ मा भने १ खर्ब ४३ अर्ब १२ करोड बराबरको यस्तो कारोबार भएको देखिन्छ । सर्वेक्षणले वाणिज्य बैंकबाट डेरिभेटिभ उत्पादनको प्रयोग बढेको देखाएको छ ।
यस्तै, गैरवित्तीय फर्महरूतर्फ १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेका छन् । अध्ययनमा ११५ ओटा यस्ता फर्महरूलाई प्रश्नावली सोधिएको थियो । त्यसमा ८१ ओटा फर्मले मात्रा त्यसको उक्त दिएका थिए । त्यसमध्ये १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि अधिकांश स्टील तथा धातु उत्पादक फर्महरू रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS