काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा बढि मात्रामा आयातीत वस्तुमा ऋण प्रवाह हुँदा सो समस्या देखिएको प्रस्टयाएका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा गभर्नर अधिकारीले भन्नुभयो, ‘देशको राजनीतिको पनि असर भयो । सरकार फेरियो, सरकार फेरिएपछि बजेटमा पुनर्विचार भयो, पुनर्विचार गर्ने भएपछि सुरुमै खर्च गर्ने अवस्था भएन, यसको असर पनि तरलतामा पर्यो । तर पछिल्लो दिनमा खर्च भएको अवस्था छ । हामीकहाँ समस्या भनेको हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी आयातको वृद्धिमा गाँसिएको देखिन्छ । गएको ऋणमध्ये ५० प्रतिशतभन्दा बढी आयातमा खर्च भइरहेको पाउँछौँ । यसले पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्था देखिएको छ ।’
गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरूलाई सचेत गराउनुभयो । उहाँले सस्तो ब्याज दरमा ऋण दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको स्पष्ट पार्नुभयो ।
०७६ चैतदेखि कात्तिकसम्म कर्जाको माग खासै नभए पनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो । ०७६ साल चैतदेखि हालसम्म १२ खर्ब ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ । तर, सोही अनुपातमा निक्षेप संकलन नभएको गर्भनर अधिकारले बताए ।
FACEBOOK COMMENTS