काठमाडौँ । आज यमपञ्चकको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी गरिँदै छ । कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विशेष पूजाआराधना गरी लक्ष्मी भित्र्याईन्छ ।
यो दिन घर, आँटन, कोसी, भर्याङ, झ्याल, ढोका, चोटा, उद्योग, औद्योगिक क्षेत्र, कार्यालयमा लिपपोत गरेर लक्ष्मी भित्र्याउने प्रचलन रहेको छ । यो दिन घर, आँटन, उद्योग, औद्योगिक क्षेत्र, कार्यालयमा गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई भित्र्याईन्छ ।
आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरेको पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले नबिराई लिपपोत गर्ने, चामलको पीठो, अबीर तथा विभिन्न रंगले रंगोली तथा लक्ष्मीको पाइला बनाईने गरिन्छ । त्यो भनेको लक्ष्मी आउने बाटो देखाइएको मानिन्छ ।
यसपछि हरेक पाइलामा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ भने मैनबत्ती, दियो, कलश तयार पारिन्छ । साँझ आफुसँग भएको पैसा, धान, गरगहना, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ र घरघरमा लक्ष्मी भित्र्याइन्छ ।
आज भैलो पनि खेल्न चलन रहेको छ । भैलो खेल्नेलाई दक्षिणा, धान, चामल, फूलमाला तथा सेलरोटी दिने प्रचलन छ । भैलो देउसी खेल्न आउनेलाई दिने दान दक्षिणालाई कात्तिकको दान पनि भन्ने प्रचलन रहेको छ ।
FACEBOOK COMMENTS