काठमाडौं । नेवार समुदायले आज आफुले आफैलाई पुजा ‘म्हः’ पूजा गरी मनाउँछन् । काठमाडौ उपत्यका, दोलखा लगायतका जिल्लामा बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्ने प्रचलन रहेको छ ।
आज साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने परम्परा नै रहेको छ । म्हः को शाब्दिक अर्थ शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो शरीरको पूजा गर्नु हो । आफैले आफ्नो शरीर वा आत्मको पूजा गर्नुलाई म्हः पूजा भनिन्छ । म्हः पूजा गर्न मण्डप, फलफूल, फुल, धूपबत्ती, जनैकोखा, मासु, माछा, अदुवा, लसून, दही चाहिन्छ ।
हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गर्ने गरिन्छ । मानिसको शरीर शान्ति नभइ अन्यत्र शान्ति नमिल्ने आम विश्वास रहेको छ । सोही अनुसार म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ ।
घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई पूजा गरिन्छ । पूजा सकिएपछि भोज खाने प्रचलन रहेको छ । म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वास रहेको छ ।
FACEBOOK COMMENTS