काठमाडौं ।औसतमा सेयर बजार अहिले सकारात्मक छ ।नेपालीको महान चाड दसैंअघि बजार नकारात्मक (घटेर) निराश बनाएको बजारले तिहार अघि भने आम लगानीकर्तालाई केहि राहत दिएको छ । तिहार अघि नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि क्रमशः विस्तार हुँदै गएको छ । सूचक र कारोबार रकम दुवैमा सु्धार हुँदै जाँदा सर्वसाधारण लगानीकर्ता पनि उत्साहित हुने वातावरण बनेको छ ।
छोटो समयमा ७ सय अंकभन्दा बढीले घटेको बजारमा आम लगानीकर्ता पेनिक हुने अवस्था आएको थियो । सेयर धितो कर्जामा ४–१२ करोडको क्याप, तरलता अभाव अनि बढ्दो ब्याजदरले एकैसाथ बजारलाई प्रभावित बनाएको थियो । तर अब यी विषयहरुमा विस्तारै सुधार हुँदै जाने अपेक्षा गरिएको छ ।
तिहारपछि सरकारको खर्च रफ्तारमा बढने र आयातको परिमाण पनि केही घट्न सक्ने भएकाले तरलता सहज हुने अनुमान गरिएको छ । यसबीचमा दसै, तिहार लगायतका महत्वपूर्ण चाडपर्व परेकाले पनि आयात परिमाण बढी भएको हो । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम साधारण सभा बोलाइरहेका छन् । सूचीकृत कम्पनीहरुले पनि औसतमा राम्रो नाफा कमाएको वित्तीय विवरणहरु सार्वजनिक गरेका छन् ।
यी सकारात्मक पक्षका कारण आगामी दिनमा सेयर बजारको औसत यात्रा उकालो लाग्ने विश्लेषणहरु भइरहेका छन् ।तर बजार घटबढ हुन्छ । यो स्वभाविक प्रक्रिया हो । लाभांश क्षमता, कम्पनीको वित्तीय अवस्था लगायतलाई अध्यन गर्दै लगानी गर्न बानी बसाल्नु नै उत्तम मानिन्छ ।
FACEBOOK COMMENTS