पोखरा कार्तिक १९,कोरोना उपचारका संसारमै पहिलो पटक खाने चक्की औषधिलाई बेलायती औषधि नियामक निकायले स्वीकृत गरेको छ। बिबिसीका अनुसार लक्षण देखिएका कोरोना संक्रमितका लागि बनाइएको उक्त गोटी औषधिको नाम मोल्नुपिराभिर हो। भर्खरै संक्रमित भएका गम्भीर बिरामीलाई यो औषधि दिनको दुईपटक दिइन्छ।
यो औषधि सुरूमा फ्लूको उपचारका लागि विकास गरिएको थियो। कोरोना संक्रमितका लागि गरिएको परीक्षणमा यसले बिरामीलाई अस्पताल भर्ना हुने जोखिम कम गरेको पाइएको छ। त्यस्तै आधाभन्दा बढी बिरामीको मृत्यु हुने जोखिम पनि कम गरेको बिबिसीले लेखेको छ।
बेलायतका स्वास्थ्य सचिव साजिद जाविदले यो उपचार पद्धति एकदमै प्रभावकारी देखिएको बताएका छन्।
आज हाम्रो देशकै लागि ऐतिहासिक दिन हो,ु साजिदका भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ुबेलायतले संसारमै पहिलोपटक खाने एन्टिभाइरल औषधिलाई स्वीकृति दिएको छ। यसलाई घरमै लगेर खान सकिन्छ।ु
मोल्नुपिराभिर अमेरिकी औषधि उत्पादक कम्पनी मर्क, सार्प, डोम र रिजब्याक बायोथेरापेटिक्सले विकास गरेको हो। यो कोभिड बिरामीका संसारकै पहिलो खाने चक्की औषधि हो।
बेलायतले पहिलो चरणमा चार लाख ८० हजार मात्रा किन्ने सहमति पनि गरिसकेको छ। प्रारम्भिक चरणमा यो औषधि कोभिडविरूद्धको खोप लगाएका र नलगाएका दुवै बिरामीलाई दिइनेछ। यसपछि उनीहरूमा औषधिले देखाएको प्रभावका आधारमा थप माग गर्ने कि नगर्ने भन्ने निधो गरिनेछ।
FACEBOOK COMMENTS