काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो ।
२०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले सरकारलाई दिएको छ ।
प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँगको छलफलमा दलहरूसँग सल्लाह गरेर जवाफ दिने बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग एक चरण छलफल गरिसकेका छन् । प्रधानमन्त्री देउवा अब छिट्टै नै संसद्मा रहेका प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने तयारीमा छन् ।
संवैधानिक व्यवस्थाअनुसार सांसदको पद रिक्त भएको ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभामा २ सय ७५ सांसद रहने व्यवस्था छ । तर, अहिले चार सिट खाली छ । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित यी चारै जना सांसद एमाले प्रवेश गरेपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा सांसद पद रिक्त हुन गएको हो ।
२०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रको वामगठबन्धनतर्फको साझा उम्मेदवार बनेर चारै जना सांसद निर्वाचित भएका थिए । रौतहट–३ बाट प्रभु साह, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी, कैलाली–३ बाट गौरीशंकर चौधरी र कैलाली–४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए ।
अब हुने उपनिर्वाचनबाट यी चारवटै क्षेत्रमा कुन दलका उम्मेदवार विजयी हुनेछन् ? यतिकै भन्न सक्ने अवस्था छैन । किनकि, अहिले वामगठबन्धन छैन, फुटेको छ । माओवादीबाट विजयी सांसद नै एमाले प्रवेश गरेकाले माओवादी यी चारै क्षेत्रमा कमजोर बनेको छ । गत निर्वाचनमा अत्यन्तै उत्साहजनक नतिजा ल्याएको एमाले समेत अहिले कमजोर अवस्थामा छ । एमाले फुटेर एकीकृत समाजवादी गठन भएकाले एमालेको साख पहिलाको जस्तो छैन ।
अर्को कुरा, वामगठबन्धन भत्केर अर्को गठबन्धन बनेको छ । पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा छन् । तर, माओवादीले जितेको यी चारै सिट माओवादीले नै पाउने कि गठबन्धनमा आबद्ध दलले भागबन्डा गर्ने स्पष्ट भइसकेको छैन । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले आगामी आमनिर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने भन्दै आएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS