काठमाडौं । उच्च अदालत पाटनले ललितपुर महानगरपालिकाले विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेकाे हो।
महानगरले वडा नम्बर ११ मा पर्ने शंखमूलको मणिडोलमा निजी जग्गा खरिद गरी गत असोज २४ मा आवास क्षेत्रभित्र शवदाहगृह बनाउन टेण्डर आह्वान गरेको थियो। यसविरुद्ध मणिडाेल टोल सुधार समितिका तर्फबाट स्थानीयले मुद्दा दर्ता गराएका थिए।
आवास क्षेत्रमा शवदाह गृह निर्माण प्रकृया अगाडि बढाएको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन्। स्थानीयले महानगरले स्थानीयसँग सरोकार नराखी आवास क्षेत्रभित्रको निजी जग्गा खरिद गरी शवदाह गृह बनाउन लागेको भन्दै विरोध गरेका थिए।
‘प्रकाशित टेण्डर सूचना कार्यान्वयन नगर्नु–नगराउनु हाल यथास्थितिमा राख्नु’ अल्पकालिन अन्तरिम आदेशमा भनिएको छ। अन्तरिम आदेशबारे छलफलका लागि मंसिर ८ मा दुवै पक्षलाई बोलाउने उल्लेख गरिएकाे छ।
स्थानीयले विद्युतीय शवदाह गृह बनेपछि देशभरबाट शवदाहका लागि ल्याइने भएकाले स्थान अभाव हुने र प्रदूषण बढ्ने चिन्ता व्यक्त गर्दै आएका छन्।
