पोखरा कार्तिक २५ , पोखरा ८ सिमलचौरबाट बुधबार प्रहरीले २ लागुऔषध कारोबारी महिलालाई प्रहरी पक्राउ गरेको छ । लमजुङ दोर्दी गाउँपालिका ७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका २ घर भएकी ३१ वर्षीय कोपिला अर्याल पक्राउ परेका हुन् । उनीहरु पोखरामा ९ नयाँबजारमा डेरा गरी सँगै बस्दै आएका थिए ।
उनीहरुको साथबाट डाइजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल, फेनेरागन ७२ एम्पुल गरी जम्मा २ सय १६ एम्पुल प्रहरीले फेला पारेको छ । उनीहरुलाई प्रहरीले जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ ।
मंगलबार लेकसाइडबाट कोपिला अर्याल बुफ्रिनर्फिन ७०, डाईजापाम ७४ थान, फेनेरागन ७२ थान लागुऔषधसहित पक्राउ परिन् । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी तिलाहारमा प्रहरीले १७ गते समीर गुरुङ र नकुल सुनारलाई पक्राउ ग¥यो । उनीहरुको साथबाट प्रहरीले डाइजापाम २४ एम्पुल, फेनरागन २६ एम्पुल, बुप्रिनर्फिन २५ एम्पुल लागुऔषध सहित १ थान मोबाइल फेला पारेको हो । त्यसको २ दिनअघि गगनगौंडा पावरहाउसमा प्रहरीले सवारी साधन जाँच गरिरहेको थियो । त्यसक्रममा २२ वर्षीय गौरव बुढाले झोलामा लुकाई ल्याएको ३ सय ७८ एम्पुल लागुऔषधसहित मोबाइल र ४ हजार रुपैयाँ प्रहरीले बरामद ग¥यो । गगनगौंडामै साहिल पौडेलको साथबाट प्रहरीले २ सय २५ एम्पुल लागुऔषध १० गते समातेको थियो ।
कास्की प्रहरीले केही समययता यसरी नै लागुऔषध कारोबारी पक्राउ गरिरहेको छ । कात्तिकमा मात्र कास्की प्रहरीले २९ जनाविरुद्ध लागुऔषधसम्बन्धी २१ वटा मुद्दा दर्ता गराएको छ । कात्तिकभर प्रहरीले बुप्रिनफ्रिन ४ सय ४२ एम्पुल, डाइजापाम ४ सय ४३ फेनरागन, ४ सय ४४ एम्पुल, गाँजा १० केजी ५ सय ४८ ग्राम र ब्राउनसुगर १ ग्राम ६९ मिलिग्राम लागुऔषध बरामद गरेको छ ।
FACEBOOK COMMENTS