पोखरा कार्तिक २५ ,संसदको उपल्लो सदन राष्ट्रिय सभामा निर्वाचितमध्ये ४ वर्षे पदावधि सकिनेमा गण्डकीका ३ जना सांसद पनि परेका छन् । गण्डकीबाट खिमबहादुर विक, दीनानाथ शर्मा र शान्तिकुमारी अधिकारी जिसीको पदावधि सकिँदै छ । खिमबहादुर विधायन समिति सदस्य छन् । विक र शर्मा माओवादी केन्द्र र अधिकारी नेकपा समाजवादीकी सांसद हुन् ।
विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा ४ वर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि प्रत्येक २ वर्षमा सकिन्छ । ४ वर्षे पदावधि सकिनेमा ७ महिला, ३ दलित समुदाय, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समुदायका ७ सदस्य छन् । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ ।
राष्ट्रिय सभामा निर्वाचन र मनोनयबाट छनोट भएका ५९ जनाबीच गोलाप्रथा गरी २, ४ र ६ वर्ष कार्यकाल निर्धारण गरिएको थियो । पहिलो पटकका लागि त्यसो गरिएकोमा २ वर्ष कार्यकाल पूरा भएकाहरुको ठाउँमा अरु निर्वाचित भइसकेका छन् । यसपालि ४ वर्षे कार्यकाल पूरा भएकाहरुको पदावधि सकिएको हो । अब उनीहरुको सट्टा निर्वाचित हुनेहरुको कार्यकाल भने ६ वर्ष नै हुनेछ ।
कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य पदका लागि माघ दोस्रो साताभित्र चुनाव हुने भएको छ । निर्वाचन आयोगले माघ ७ र १० मध्ये एक दिन चुनाव गर्न सुझाव दिएकोमा मन्त्रिपरिषद् बैठकले माघ ८ का लागि निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS