काठमाडौं । गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा छ । हिउँदेबाली गहुँ र तरकारीखेतीका लागि करीब १ लाख २५ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि सरकारी अनुदानको मल विक्री गर्दै आएका दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडसँग मलको भण्डार निकै न्यून छ ।
कर्पोरेशनसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग करीब साढे १५ हजार मेट्रिकटन मात्र मलको मौज्दात छ । गहुँबालीका लागि किसानलाई डीएपी मलको आवश्यकता पर्छ । तर, कृषि सामग्रीसँग ३ सय मेट्रिकटन मात्रै डीएपी मल मौज्दात छ भने युरिया मल पनि १५ हजार मेट्रिकटन मात्रै मौज्दात रहको बताइएको छ ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले मलको भण्डारण रित्तिने क्रममा भए पनि मल बाटोमा आउने क्रममा रहेकाले अभाव हुन नदिने प्रयास भइरहेको बताए । उनका अनुसार साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीको २५ हजार मेट्रिकटन युरिया र २५ हजार मेट्रिकटन डीएपी बाटोमा आयातको क्रममा रहेको छ । सरकारी कम्पनीसँग मलको मौज्दात रित्तिने क्रममा भएपछि किसानलाई मलको अभाव भोग्नु परिरहेको छ । धानबाली भिœयाएर गहुँ छर्ने चटारोमा रहेका किसान मल नपाएर छटपटाइरहेका छन् ।
विशेषगरी यतिबेला तराईका जिल्लामा गहुँ छर्ने काम धमाधम शुरू भइसकेको छ । मलविना नै तोरी छरेका किसानले गहुँ छर्ने बेलामा पनि मल नपाउने हुन् कि भन्ने चिन्ता बढेको सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले आर्थिक अभियान दैनिकसँग बताए । उनका अनुसार सुनसरी जिल्लाका किसान हरेक दिनजसो मल किन्नका लागि कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोमा धाए पनि खाली हात फर्किने गरेका छन् ।
यसअघि वर्षे बालीका समयमा समेत मलको अभाव भोगेका किसानले हिउँदे बालीमा समेत अभाव भोग्नु परेको छ । भर्खरै मात्र बेमौसमी वर्षात्का कारण धानबाली नष्ट भएर पीडामा रहेका किसानलाई फेरि मलको अभाव भोग्नुपर्ने कुरा दुःखद रहेको राष्ट्रिय किसान आयोगका निवर्तमान अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS