काठमाडौँ । क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएको छ ।
प्रदेश नम्बर २ को सर्लाही, पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो । १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन सुरु भएका अन्य जिल्लाको पनि प्रक्रिया रोकिएको थियो ।
१३ जिल्लाले सबै तहको अधिवेशन सके पनि प्रदेश २ का आठसहित डोल्पा, बाँके, कैलाली, सुर्खेत, रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको थिएन । बाँकी सबै जिल्लाको अधिवेशन प्रक्रिया एकसाथ अघि बढाउने कांग्रेस निर्वाचन समितिको निर्णयसहित संशोधित कार्यतालिकाअनुसार फेरि अधिवेशन प्रक्रिया सुरु भएको हो । कतिपय जिल्लामा शनिबार नै प्रदेशसभा क्षेत्रीय अधिवेशन भएका छन् । तर क्रियाशील सदस्यता विवाद अझै सुल्झेको छैन ।
सबैभन्दा अन्तिममा क्रियाशील सदस्यता सार्वजनिक गरिएको रौतहटदेखि सर्लाही, डडेलधुरासम्मको विवाद कायमै छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लले यसअघि भएको वडा र पालिका अधिवेशन रद्द गरी पुनः अधिवेशन गराउन माग गर्दै आएका छन् ।
जिल्ला कार्यसमितिको सहमतिबिनै क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी डडेलधुरामा वडा र पालिका अधिवेशन गरिएको छ । सभापति मल्लले ती अधिवेशन रद्द गरी पुनः नगराए मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन र धर्नामा बस्ने जानकारी शनिबार पत्रकार सम्मेलनमार्फत गराएका छन् ।
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बसेको बैठकमा संस्थापन इतरका नेताहरूले डडेलधुरासहितका जिल्लाको सदस्यता विवाद प्रवेश गराएका छन् । जिल्लाहरूको विवाद टुंगोमा पुग्न नपाउँदै जनसम्पर्क समितिभित्रको सदस्यता विवादले पनि बैठकमा प्रवेश पाएको छ ।
महाधिवेशन तयारीबारे विभिन्न निर्णय गर्न आइतबार कांग्रेस केन्द्रीय समितिको बैठक डाकिएको छ । केन्द्रीय समितिबाट निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुमोदन गरी महाधिवेशन तयारी समिति गठन गर्ने तयारी छ । यसका लागि सहमति जुटाउन शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको थियो ।
बैठकमा संस्थापन इतर समूहका नेताहरूले कार्यकाल गुजारेर हाल तदर्थ समितिको हैसियतमा रहेका भ्रातृ तथा शुभेच्छुक संगठनबाट महाधिवेशन प्रतिनिधि सहभागी गराउन नहुने धारणा अघि सारेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS