काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करछली र चुहावट रोक्न सरकार निर्मम हुने बताएका छन् ।
दशौं कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा बुधवार आयोजित कार्यक्रममा उनले करप्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने तर करछली र चुहावट रोक्न सरकार निर्मम हुने बताए ।
उनले करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताए । कर प्रशासनमा हुने झन्झट र कुनै अड्चन र समस्या आयो भने तत्काल समाधान गर्ने एकाइ बनाइने प्रतिबद्धता व्यक्त गर्दै शर्माले भने, ‘करदाताको गुनासो सुन्नुपर्छ, तत्काल एउटा एकाइ बनाइनेछ, तत्काल कार्यान्वयन हुने संयन्त्र बनाउँछु, कहाँ समस्या छ त्यहाँ तत्काल समाधान गर्नुपर्छ ।’
व्यवसायीलाई सहयोग गर्न भन्सारमा व्यापार सुधार थालिएको बताउँदै उनले प्रत्येक भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर’ राखिने जानकारी दिए । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न कर नीतिमा स्थिरताको खाँचो रहेको उल्लेख गर्दै करको दायरा विस्तार गर्ने तर करको दर वृद्धि नगर्ने सरकारको नीति रहेको बताए ।
‘करदातालाई कर कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागेको छ, विभिन्न प्रक्रियागत र प्रणालीगत सुधार गरिएको छ,’ कर प्रशासन सुधारमा चालिएको कदम प्रस्ट्याउँदै उनले भने । अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले कर बाध्यताले नभई रहरले तिर्ने, कर तिर्न उत्सुकता जगाउने, स्वेच्छाले कर तिर्न सहयोग गर्ने उद्देश्यले सरकारले नीतिगत तथा प्रक्रियागत सुधारको काम गरेको बताए । राजस्व प्रशासनमा सुधारको खाँचो रहेको स्वीकार गर्दै उनले सरकारले निजीक्षेत्रको भावनाअनुसार कर प्रशासन र प्रणालीमा सुधार गर्दै लगेको प्रस्ट्याए ।
विभागका महानिर्देशक शोभाकान्त पौडेलले नीतिगत सबलीकरण, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार, कर शिक्षा तथा जागरणलगायत विषयमा गरिएको सुधारबाट कर प्रशासन करदातामैत्री, लगानीमैत्री र प्रविधिमैत्री बन्दै गएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायी कर तिर्न तयार रहेको र त्यसका लागि मर्यादित व्यवसाय विस्तारको वातावरण बनाइदिन सरकारसँग आग्रह गरे । उनले कर प्रशासनलाई चुस्तदुरुस्त बनाउन सुझाव दिए । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले करप्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कर ‘कर’ले नभई रहरले तिर्नुपर्ने वातावरण बनाउनुपर्ने बताए । घरजग्गा कारोबारका क्षेत्रबाट सरकारले अत्यधिक राजस्व गुमाएको भन्दै उनले रियल इस्टेट व्यवसायीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS