काठमाडौँ । सिद्धार्थ रंगशाला भैरहवालाई क्रिकेट मैदानको रुपमा विकास गर्ने सरकारको निर्णय १० वर्षमा पनि पूरा हुन सकेको छैन । सुरूका वर्षमा बजेट अभाव र पछिल्लो दुई वर्षयता कोभिड महामारीको मारमा रंगशाला परेको हो ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा भैरहवाको सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको रुपमा विकास गर्ने निर्णय गरेको थियो । सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेटमा एक करोड रुपैयाँ मात्र विनियोजन गर्यो । बजेट अत्यन्तै न्यून भएकाले त्यो बजेटले चेन्जिङ रुम मात्र निर्माण गरेकाे रुपन्देही क्रिकेट विकास संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । ‘सरकारले रंगशालालाई क्रिकेट मैदान बनाउने निर्णय त गर्यो, तर ५० करोड लाग्ने ठाउँमा सुरुमा जम्मा एक करोड मात्र बिनियोन भयो,’ उनले भने ।
त्यसपछिकाे वर्ष भने सरकारले यसका लागि बजेट नै छुट्टयाएन । आर्थिक वर्ष २०७०/७१ मा भने फेरि एक करोड बजेट विनियोजन भयो । उक्त बजेट माटो पट्याउने र मैदान सम्माउने काममै सकियो । त्यसपछि आर्थिक वर्ष २०७२/७३ मा विनियोजन भएको ४० लाख रुपैयाँ बजेटले मैदानमा तारजाली लगाउने काम सम्पन्न भयो । त्यसपछि सरकारले आर्थिक वर्ष २०७३/७४ मा पुनः एक करोड बजेट छुट्टयायो । उक्त बजेट ढल व्यवस्थापनमा खर्च भयाे । तर, २०७४ सालमा विनियोजन भएको साढे दुई करोड बजेट मध्ये डेढ करोड फ्रिज भयो । बाँकी एक करोडले स्टोर रुम, गार्ड रुम, क्रिकेटको पिच र पार्केटिङको काम गरियो ।
२०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले भैरहवा क्रिकेट मैदानका लागि साढे तीन करोड बजेट छुट्टयायो । तर, त्यो सबै बजेट फ्रिज भयो । त्यतिबेला राष्ट्रिय खेलकुद विकास परिषद्ले साफ खेलका कारण टेण्डर खोल्न ढिलाई हुँदा बजेट फ्रिज हुन पुगेको थियो । सरकारले हरेक वर्ष बजेट छुट्टयाए पनि गुरुयोजना नबनी काम सुरू गर्दा अपेक्षाअनुसार काम हुन नसकेको अध्यक्ष मल्लको भनाइ छ । ‘गुरुयोजनाविना नै बजेट छुट्टिन थालेपछि कसरी काम गर्ने भन्ने नै द्विविधा थियो, जसकाकारण साेच अनुरुप काम अगाडि बढ्न सकेन,’ उनले भने ।
२०७५ सालमा राष्ट्रिय खेलकूद परिषद्ले क्रिकेट मैदानको गुरुयोजना बनाएपछि बल्ल कामले गति लिन थालेको हो । गुरुयोजना बनेको एक वर्षमै कोरोना महामारी सुरू भएपछि फेरि निर्माणमा असर पुगेको अध्यक्ष मल्लले बताए ।
गुरुयोजनाअनुसार क्रिकेट मैदान निर्माण सम्पन्न गर्न ५० करोड लाग्ने अनुमान छ । आइसीसीको न्यूनतम मापदण्डअनुसार बन्ने क्रिकेट मैदानमा सात हजार दर्शक क्षमताको प्याराफिट बन्ने गुरुयोजनामा उल्लेख छ । तर, त्यो प्याराफिटलाई ११ हजार क्षमताको बनाइने अध्यक्ष मल्लले बताए । प्याराफिट निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा ओली नेतृत्वको सरकारले चार करोड बजेट छुट्टयाएको थियो । तर, कोरोना महामारीका कारण कामले गति नलिंदा दुई करोड बराबरको काम भयो भने बाँकी दुई करोड फ्रिज भयो । आर्थिक वर्ष २०७७/७८ मा प्याराफिट निर्माणकै लागि थप एक करोड बजेट विनियाेजन भयाे । अहिले सोही बजेटले काम भैरहेको मल्लले बताए । ‘कोरोना महामारीका कारण कामले गति लिन नसकेको हो, अब स्थिति सहज बन्न थालेकाले कामले गति लिने अपेक्षा छ,’ उनले भने ।
खेलकुदका गतिविधि सञ्चालन गर्न २०३७ सालमा सिद्धार्थनगर नगरपालिकाले स्थानीयको पाँच बिगाहा जग्गा अधिग्रहण गरेर रंगशाला बनाएको थियो । त्यसपछि यही रंगशालामा खेलकुदका गतिविधि हुँदै आइरहेका छन् ।
FACEBOOK COMMENTS