काठमाडौं । ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने नारासहित १२औँ राष्ट्रिय जनगणना जारी छ । यतिबेला गणकहरू गाउँगाउँमा पुगेर विवरण संकलन गरिरहेका छन् । तर, सिन्धुपाल्चोकका केही स्थानमा खटिएका गणकहरू भने बस्तीमा होइन नदी किनारको बगरमा पुगेरसमेत विवरण संकलन गरिरहेका छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ कि गणक कविता चापागाईं भन्छिन्, ‘इन्द्रावती नदी आसपासका माझी समुदाय घरमा भेटिँदैनन् । जीवन गुजाराका लागि इन्द्रावती बगरमा रहने उनीहरू घरमा नभेटिएपछि ‘इन्द्रावती बगरमै गएर तथ्यांक संकलन गरिरहेको छु ।’
पाचँपोखरी थाङपाल गाउँपालिका–४ र ५ मा गणकको काम गर्दै आएकी अप्सरा पण्डितको अनुभव पनि कविताको जस्तै छ । अप्सरा भन्छिन्, ‘दिउँसोको समयमा जाँदा घरमा भेटिनुहुन्न, बिहान बेलुकाको समयमा गएर तथ्याङ्क संकलन गरिरहेको छु ।’
कतिपयले विवरण दिनै नमानेको अप्सरा बताउँछिन् । ‘केहीले भने किन टिपाउनुपर्यो, अस्ति नै घरधुरी सबै टिपाको हैन । यो टिपेर हामीलाई कसले के ग¥यो भन्दै प्रश्न गर्छन् । विवरण दिन आनकानी गर्छन्’, उनले भनिन् ।
तर, चौतारा सांगाचोकगढी नगरपालिका–७ कि गणक विमला तामाङको अनुभव भने फरक छ । रेडियोबाट गणक आउँदैछन् भन्ने सूचना सुनेकाहरूले स्वागत गर्दै खुसीका साथ सबै विवरण टिपाएको उनी बताउँछिन् ।
‘जनगणनाको सामान्य सूचनासमेत थाहा नपाएका व्यक्तिले भने विवरण दिन आनकानी गर्छन्’, उनी भन्छन् ।
गणनामा परिवार संख्यादेखि लिएर रोजगारीको अवस्था, खानेपानी नेट÷ईन्टरनेटदेखि सरसफाइका कुरासम्म सोधिएको चौतारा सागाचोकगढी नगरपालिका–५ कि कविता दाहालले बताइन् ।
लामो प्रश्नावली देख्दा कतिपय उत्तरदाताले झन्झट मान्ने गरेका छन् भने कतिपयले जनगणना सहभागितामा चासोसमेत देखाएका छन् । गणकले परिवार संख्यादेखि लिएर जोखिम विपद् लगायतका ८० वटा प्रश्न सोध्ने गर्छन् ।
जनगणनाका लागि सिन्धुपाल्चोकमा ११४ सुपरीवेक्षक र ४५६ गणक कर्मचारी खटाइएका छन् । गत २५ कात्तिकदेखि सुरू भएको राष्ट्रिय जनगणना ९ मंसिरसम्म चल्नेछ ।
FACEBOOK COMMENTS