काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ंको १०औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् ।
महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेताहरू रणनीतिमा जुटेका छन् । १०औं महाधिवेशनमा महासचिवका पाँच जना दाबेदार देखिएका छन् ।
वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे पनि केपी शर्मा ओली नै अध्यक्ष बन्नेमा दुई मत छैन । तर, रावलको उम्मेदवारीले ओलीलाई सर्वसम्मत हुनबाट भने धक्का लागेको छ ।
उता, अध्यक्षपछिको प्रभावशाली पद महासचिव को बन्छ रु भन्ने कार्यकर्तामा कौतुहलता बढेको छ । १०औं महाधिवेशनमा महासचिव बन्ने दौडमा विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, सुरेन्द्र पाण्डेलगायत चर्चामा छन् ।
अध्यक्ष ओली समूहबाटै पौडेल र पोखरेल महासचिवका बलियो दाबेदार हुन् । नवौं महाधिवेशनमा उपमहासचिव हारेका पोखरेल अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् ।
एमालेमा महासचिवका मुख्य दाबेदार मानिएका पौडेल तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । साथै, उपमहासचिव पौडेल संगठन विभाग प्रमुख तथा दुईपटक अर्थमन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् । ओलीनिकट मानिने नेता जसरी पनि एमाले महासचिव हुनुपर्ने रणनीतिमा लागेका छन् ।
ओलीनिकट पौडेल र पोखरेल दुवै लुम्बिनी प्रदेशका नेता हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेललाई ओलीको मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत समर्थन रहेको छ । जबजको व्याख्याता पोखरेललाई भण्डारीले भित्रभित्रै सहयोग गरिरहेको स्रोतको दाबी छ ।
आठौं महाधिवेशनसम्म पौडेल माधव नेपाल पक्षमा थिए । तर, नवौं महाधिवेशनमा आइपुग्दा उनी ओली समूहबाट उपमहासचिव बनेका थिए । नेकपाको आन्तरिक विवादका समयमा ओली र पुष्पकमल दाहालसँग बराबरीजस्तै छलफलमा उनी जुटेका थिए ।
नेपालकै ठूलो, दुई तिहाइ जनमतसहित सत्ता सञ्चालनमा रहेको नेकपाको महासचिव बनेर सफल भूमिका निर्वाह गरेका पौडेल एमाले महासचिवको प्रबल दाबेदार हुन् । तर, सांगठनिक रूपमा बलियो भए पनि सैद्धान्तिक रूपमा जबजको व्याख्या गर्न पूर्ण नभएको भन्ने उनको आलोचना गर्नेहरूको तर्क छ ।
पोखरेल पार्टीको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भए पनि उनी पार्टी राजनीतिको केन्द्रमै रहँदै आए । नवौं महाधिवेशनमा दुई उपमहासचिवका लागि भएको निर्वाचनमा भुसाल र पौडेल विजयी हुँदा पोखरेल पराजित भएका थिए ।
पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैं जबज केन्द्रित हुने भएकाले पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषक बताउँछन् । जबजप्रति प्रतिबद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति भण्डारीले पनि पोखरेलाई साथ दिनेछन् । यसैले पोखरेल महासचिव बन्न सक्ने उनको पक्षमा बोल्ने नेताहरूको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS