चितवन । एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेका छन्।
अध्यक्षमा उम्मेदवारी दिने भन्दै रावलले अस्वीकार गरेका हुन्। भुसालले पनि सूचीबाट लोकतन्त्रको चिरहरण भएको भन्दै अस्वीकार गरेका हुन्। उनीहरूले ओलीको सूचीलाई अस्वीकार गरेपछि अन्ततः अध्यक्षसहितका केही पदमा निर्वाचन हुने भएको छ।
सहमति हुन नसकेपछि निर्वाचन आयोगले आइतबार राति साढे ११ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, दाबी विरोध,उम्मेदवारी दर्तालगायतका कार्यक्रम राति नै सम्पन्न गर्ने तय भएको थियो। यसअनुसार मतदाता नामावली प्रकाशन गरिएको थियो।
तर पछि निर्वाचनका बाँकी काम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको सूचना राति अबेर प्रकाशन गरिएको छ। प्राविधिक कारण देखाउँदै रातिका लागि तोकिएको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम स्थगित गरिएको हो। स्थगित कार्यक्रम सोमबार बिहान ८ बजेबाट अघि बढाइने छ। कार्यतालिकामा राति २ः१० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ९ बजेबाट मतदान सुरु हुने उल्लेख गरिएको थियो।
सहमति जुटाउनका लागि भएको छलफलमा अध्यक्षमण्डलका तर्फबाट ओलीले पार्टी महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका थिए। त्यसलाई महासचिवका अर्का दाबेदार विष्णु पौडेलले अस्वीकार गरेका थिए। तर पछि पौडेललाई मनाइएको स्रोतको दाबी छ।
पार्क सफारीमा अध्यक्षमण्डलको बैठक बस्नुअघि शीर्ष नेताहरूसँगको छलफलमा ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेका थिए। महासचिवका अर्का दाबेदार पौडेललाई सहमत गराएरै ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेको हुन्। एमाले–माओवादी एकीकरणपछि बनेको नेकपामै महासचिव भइसकेका पौडेललाई ईश्वर पोखरेलपछिको वरीयतामा उपाध्यक्ष प्रस्तावित गरिएको थियो। तर उनले चित्त बुझाएका छैनन्।
निवर्तमान महासचिव पोखरेल वरिष्ठ उपाध्यक्ष हुँदा भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष प्रस्ताव गरिएको छ। उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई प्रस्ताव गरिएको छ।
पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्ष ओलीले बन्दसत्रमा पेस गरेका थिए। उनले सचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराईलाई प्रस्ताव गरेका थिए। उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो।
राति अबेर सुरु भएको बन्द सत्रमा ओलीले आफूले तयार पारेको सूची पढेर सुनाएका थिए। नेताद्वय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच ओलीपछिको वरीयतामा रहेको वरिष्ठ उपाध्यक्ष को हुने भन्नेमा लामो रस्साकस्सी भए पनि अन्ततः पोखरेलले त्यो अवसर पाएका छन्।
विगतमा पार्टीभित्र देखिएको विवादमा स्थायी कमिटीमा रहेका पोखरेलले ओलीलाई अनवरत रूपमा साथ दिएका कारण पनि पोखरेल यसपटक ओलीको छनोटमा परेका हुन्। तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको टक्करमा होस् अथवा नेता माधवकुमार नेपालसँगको संघर्षमा, पोखरेल ओलीको रक्षाकवच बन्दै आएका थिए।
पार्टीमा दुईपटकसम्म महासचिव रहेका पोखरेलले अध्यक्षमा ओलीलाई छाडिदिएपछि वरिष्ठ उपाध्यक्षका स्वाभाविक हकदार पनि थिए। त्यसमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन पनि पोखरेललाई नै भएका कारण यसपटक वरिष्ठ उपाध्यक्षका लागि उनको पल्ला भारी भएको हो।
अर्कोतर्फ नेम्वाङले पनि ओलीलाई साथ दिँदै आएका हुन्। तर ओलीले दुईदुईपटक प्रतिनिधिसभा विघटन गरेको विषयमा आन्तरिक रूपमा नेम्वाङको असहमति थियो भलै उति बेला उनले त्यो कुरा मुखर नगरे पनि पछि आफैंले प्रतिनिधिसभा विघटन गर्नु गलत हुने भनी सुझाव दिएको प्रस्टीकरण दिएका थिए। नेम्वाङको यस किसिमको प्रस्टीकरणका कारण पनि ओलीको रोजाइमा उनीभन्दा पोखरेल नै रहेको निकट स्रोतहरूले जनाएका छन्।
त्यसो त पार्टीभित्रको विवादमा नेता नेपाललाई साथ दिए पनि अन्तिम समयमा एमालेमा नै अडिएका भीम रावल पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी थिए। वरिष्ठ उपाध्यक्ष नपाउने भएपछि उनी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न तम्सिएका हुन्। त्यति हुँदाहुँदै पनि आफूपछिको वरियता रावललाई दिन ओली कुनै हिसाबले पनि तयार नभएका कारण वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पोखरेलले पाएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS