पोखरा मंसिर १४, सामान्य अर्थमा भन्नुपर्दा योग भन्नाले विभिन्न आसन, प्राणायाम, ध्यान र साधनाद्वारा मन, आत्मा र शरीरलाई जोड्नु हो। यसलाई शरीर, मन र आत्माको एकता पनि भनिन्छ । जसरी समाजको विकास हुँदै आयो, त्यस सँगसँगै समाजमा बढ्दै गइरहेको तनाव, चिन्ता र प्रतिष्पर्धामा योगको कारणले धेरै लाभ पुगेको पाइन्छ। पछिल्लो समयमा धेरै मानिसहरुले आफ्नो चौतर्फी विकासको लागि योग अभ्यासलाई दैनिकी बनाइरहेका छन् ।
गलकोट नगरपालिका ७ मल्ममा दुई दिन सम्म जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणबाट वडाबासी नागरिक लाभान्वित भएका छन् । ‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ भन्ने आदर्श वाक्य सहित आईतबार र सोमबार सञ्चालित प्रशिक्षणमा एक सय बढी स्थानिय सहभागी भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टिका बहादुर थापाले जानकारी दिए ।
सामाजिक संस्था घुम्टे युवा परिवार सँगको सहकार्यमा धौलागिरी आयुर्वेद औषधालय बागलुङले आयोजना गरेको प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोज कुमार रायले योग र ध्यानका बारेमा प्रशिक्षित गरेका थिए । उनले योगका विभिन्न आसनको अभ्यास र विधि सिकाएका थिए।
सो अवसरमा चिकित्सक रायले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताए । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुसी र आनन्दमयी बन्ने उनको भनाइ थियो । प्रशिक्षणमा सहभागी ज्येष्ठ नागरिक कुल बहादुर थापाले योग सिक्न पाउँदा खुसी लागेको प्रतिकृया दिए ।
FACEBOOK COMMENTS