काठमाडौं । गरगहना लगाउने नेपाली संस्कारलाई सुविधा दिँदै विदेशबाट आउँदा निश्चित मात्रामा सुन ल्याउन दिने सरकारको नीतिको दुरुपयोग गरेर सुन नेपाल भित्रिएको पाइएको छ।
सोमबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुबइ, कतार र मलेसियबाट आएका यात्रुहरुमाथिको चेक जाँचमा कडाइ गरिएको छ। ती मुलुकबाट नेपाल आउने यात्रुलाई भरिया बनाएर सुन तस्करी भइरहेको आंशकापछि भन्सार कर्मचारीले यात्रुले बोक्ने सुनको परिमाण पहिल्याउन कडाइ थालेको हो ।
पहिलो दिन बिहान ६ बजेदेखि राति १२ बजेसम्मको १८ घण्टा अवधिमा ४१५ यात्रुले अस्वाभाविक रुपमा सुन बोकेको पाइएको छ । ४१५ यात्रुले १७ करोड २१ लाख रुपैयाँ बराबरको २१ किलो सुन बोकेको पाइयो, सरकारले वाणिज्य बैंकलाई दैनिक सुन ल्याउन तोकेको २० किलो कोटा भन्दा एक किलो बढी सुन एकै दिन ती यात्रुले बोकेका भेटिएको छ।
केही यात्रुलाई भने अरु नै सामान भनेर भित्र सुन राखेर झुक्याएर नेपाल पठाएको पाइएको भन्सार कार्यालयले जनाएको छ । कुल मिलाएर हुने यसको आयात परिमाण र यस प्रकरणमा पक्राउ परेका केही यात्रुले दिएको बयानका आधारमा यसरी सुन ल्याइनु योजनाबद्ध र शंकास्पद हुनसक्छ ।
FACEBOOK COMMENTS