काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत संस्थापन र इतर पक्षका शीर्ष नेताहरू आ–आफ्नो समूहको उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन्। आज (बिहीबार) सबै प्रदेशका राजधानीमा प्रदेश अधिवेशन सुरु हुँदैछ।
मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेशको परिणामले केन्द्रीय महाधिवेशन र नयाँ नेतृत्व चयनमा प्रभावित गर्ने भएकाले दुवै पक्षका नेताहरू टिम निर्माण गरेर प्रतिस्पर्धामा जुटेका हुन्।
उम्मेदवारी मनोनयनको एक दिन मात्र बाँकी रहँदा संस्थापनइतर दुवै समूहका नेताहरू प्रदेश अधिवेशनमा केन्द्रित भएका छन्। पार्टीका केन्द्रीय नेताहरू प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न प्रदेशप्रदेशमा केन्द्रित भएका छन्।
यद्यपि प्रदेश प्रतिनिधिहरूको नाममावलीलाई केन्द्रीय निर्वाचन समितिले अन्तिम रूप दिन नसक्दा नेतृत्व चयन प्रक्रिया केही दिन धकेलिएको थियो। तर, बिहीबार समितिले मतदाता नामावली प्रकाशन गर्न नसके शुक्रबार पनि प्रदेशको नेतृत्वका चयनका लागि उम्मेदवारी मनोनयन धकेलिन पनि सक्ने स्रोतको दाबी छ। तर, दुवै पक्षका नेताहरू प्रदेशमा आ–आफ्नो समूह निर्माणमा सक्रिय छन्।
सभापति शेरबहादुर देउवासहित संस्थापन र इतर पक्षले सातै प्रदेशमा नेताहरूलाई जिम्मेवारी दिंदै प्रदेश सभापतिसहित कार्यसमितिको टिम निर्माण गर्न लागि परेका छन्।तर, बुधबार साँझसम्म दुवै पक्षले सातै प्रदेशमा सभापतिसहितको प्यानल बनाउन सकेको छैन।
केही प्रदेशको सभापतिको टुंगो लगाए पनि नेताहरू रातिसम्म नाम टुंगो लगाउन सक्रिय छन्। पार्टीभित्र रहेको दुई मुख्य गुटसहित अन्य साना समूहलाई समेटेर अघि बढ्न संस्थापन र इतर पक्ष देखिएको छ।
संस्थापन पक्षले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर प्रदेश नेतृत्व आफ्नो पक्षमा पार्न लागि परेका छन्। प्रदेश १ र बागमती प्रदेशमा सिटौला पक्षले नेतृत्व दाबी गर्दै आएका छन् । सिटौला निकट नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरिकेको छन्।
तर, बुधबार मात्र संस्थापन पक्षबाट कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन्। सिटौलासँगसमेत छलफल गरेर प्रधानको उम्मेदवारी फिर्ता गराउने प्रयासमा संस्थापन पक्षका नेताहरू जुटेका छन्।
संस्थापनइतरबाट बागमती प्रदेशको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पाएका पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापा चाक्सीबारीमा छलफलमा जुटेका छन्। संस्थापनइतर समूहबाट जगदीशनरसिंह केसी, रमेशप्रसाद धमला, मधु आचार्य, राजुराज जोशी आकांक्षी छन्। उनीहरूमध्येबाट रातिसम्म नाम टुंगो लगाउने जानकारी दिँदै बैठकमा सहभागी एक नेताले केसीलाई तोकिएको भएको बताए।
संस्थापन पक्षबाट असन्तुष्टि जनाउँदै सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ सहित केही प्रदेशमा छुट्टै समूह बनाउने प्रयासमा छन्। निधि र सिटौला समूहलाई आ–आफ्नो गुटमा समेटेर प्रदेशको टिम निर्माण गर्न संस्थापन र इतर समूहका नेता सक्रिय छन्। तर, उनीहरूसँग ठोस सहमति जुटिनसकेको निकटको दाबी रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS