काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो ।
कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको हो । प्रदेश नेतृत्व चयनका लागि आज शुक्रबनर सातमध्ये ६ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेश २ मा भने अधिवेशन पछि हुनेछ ।
कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश १ मा देउवाले नेतृत्व गरेको संस्थापन समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहबीच सहकार्य हुने सम्भावना बढेको छ । सो प्रदशेमा सिटौला समूहले उद्धव थापालाई उम्मेदवार बनाएको छ । यसैगरी, प्रदेश १ मा संस्थापन इतर समूहले गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे हाल कांग्रेस केन्द्रीय सदस्य छन् ।
प्रदेश २ को अधिवेशनमा सभापतिका लागि रामसरोज यादव, महेन्द्रराय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । तीन जना आकांक्षीमध्ये रामसरोज र कृष्ण कांग्रेस उपसभापति विमेलेन्द्र निधीनिकट हुन् । महेन्द्र राय यादव भने देउवानिकट मानिन्छन् । प्रदेश २ मा निधीकै प्रभाव बढी छ । प्रदेश २ मा संस्थापन इतर समूहले कसलाई उम्मेदवार बनाउने भन्ने तय नभएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS