काठमाडौँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन् ।
दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो । सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो । सिटौलाको साथ पाएर नेतृत्वमा पुग्न सहज भएको महसुस गरेका देउवाले निकटतम प्रतिद्वन्द्वी पौडेलसँगै सिटौलालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरे ।
१३ औं महाधिवेशनबाट कांग्रेसभित्र छुट्टै समूह ९तेस्रो धार० को पहिचान बनाएको सिटौला समूह पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनमा देउवासँगै मिलेर अघि बढ्यो । अर्को भ्रातृ संगठन नेपाल तरुण दलको अधिवेशनसम्म पुग्दा देउवासँग सिटौला केही टाढा देखिए पनि उनको लचकता देउवातिरै रह्यो। तर सिटौलालाई साथ र सहयोग गर्दै आएका गगनकुमार थापा,प्रदीप पौडेलसहितका नेताहरू २०७४ सालको आमनिर्वाचनपछि देउवाको विकल्पमा उभिँदै आएका छन् ।
पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन् । पार्टीको तल्लो तहका अधिवेशनहरूमा सिटौला पक्षले आफ्नो अनुकूलतामा संस्थापन र इतर समूहसँग तालमेल गर्यो। तर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनसम्म आइपग्दा सिटौला समूह अधिकांश ठाउँमा संस्थापन पक्षसँग नजिकिएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS