नेपाली कवितामा तीसको दशकका कविहरुको भूमिका महत्वपूर्ण छ । नेपाली साहित्यबाट उनीहरुका कविता झिकिदिने हो भने नेपाली कविता अपुरो हुन पुग्छ । दुरुह र अस्पष्ट कविताको भीडमा तीसका दशकका कविले बुझिने र मस्तिष्कमा झंकार दिने कविताहरु लेखे । मोहन कोइराला, इश्वर बराल जस्ता कविका नबुझिने कविताहरुको बिगबिगीका बेला तीसका दशकका कविले बुझिने र सर्वप्रिय कविताहरु लेखे ।
त्यसो त, तीसका दशकका कविता विद्रोहको आडमा हुर्किएको हो । तीसका दशकका कविहरुले तीन वटा ठूला ठूला जनआन्दोलनको साक्षी बस्न पाए । पञ्चायती व्यवस्थाको बन्द अवस्था र कविताका कारण पटक पटक अञ्चलाधीशका धम्की व्यहोरेका उनीहरुले बुट पालिस आन्दोलनमा सक्रियता देखाए । त्यसपछि २०४६ सालको आन्दोलमा होमिए । अनि २०६२ – ६३ को आन्दोलन समेत भोगेका उनीहरुका कविता नेपाली कविताको क्षेत्रमा महत्वपूर्ण मानिन्छ ।
तीसका दशकका कविहरुको एउटा विशेष भेला काठमाडौंमा सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा कवि विश्वविमोहन श्रेष्ठको अग्रसरतामा आयोजित ‘नेपाली साहित्यमा साधनारत ३० को दशकका श्रष्टाहरुको भेटघाट तथा विचार विमर्श कार्यक्रम’मा कविहरु विष्णुविभु घिमिरे, दिनेश अधिकारी, अविनाश श्रेष्ठ, कृष्ण प्रधान, विश्वविमोहन श्रेष्ठ, स्ेनह सायमी , कुन्दन पन्त, राजेन्द्र शलभ, गोविन्दसिंह रावत, विधान आचार्य, लव गाउँले, श्यामल, महेश प्रसाई, ज्ञानुवाकर पौडेल लगायतका कविहरु सहभागी थिए । कार्यक्रममा पत्रकार राजेश खनाल र राजकुमार बानिया पनि सहभागी थिए ।
कार्यक्रमको पहिलो सत्रमा परिचयात्मक कार्यक्रम र अनुभवहरुको आदानप्रदान भएको थियो । त्यस कार्यक्रमको संयोजन आयोजक संस्था एपेक नेपालका विश्वविमोहन श्रेष्ठले गरेका थिए । कवि विष्णुविभु घिमिरेले तीसको दशक नेपाली कविताको स्वर्णिम युग भएको बताए । त्यसअवसरमा तीसका दशकका कविहरुले पछिल्लो समय नेपाली कविता संकटमा परेको विषयमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले कविता जोगाउन नयाँ पुस्ताका कविहरुमा अध्ययन र साधनाको आवश्यकता परेको पनि बताए ।
कार्यक्रमको दोस्रो सत्रमा तीसका दशकका कविहरुलाई कसरी दस्तावेजीकरण गर्ने विषयमा परिचर्चा भएको थियो । दोस्रो सत्रको संयोजन युवा कवि मणि लोहनीले गरेका थिए । उनले तीसका दशकका कविहरुको सामूहिक प्रतिनिधि कवितासंग्रहका लागि प्रस्ताव गरे ।
त्यसअवसरमा सहभागी कविहरुले एक मतले सो प्रस्तावलाई अनुमोदन गरे । कविता छनौटका लागि प्रारम्भिक चरणमा कविहरु विष्णुविभु घिमिरे, दिनेश अधिकारीर अविनाश श्रेष्ठले काम गर्नेछन् भने समग्र कृतिको सम्पादन कवि तथा समालोचक कृष्ण प्रधानले गर्नेछन् । त्यसअवसरमा कवि विश्वविमोहन श्रेष्ठले किताव प्रकाशनको जिम्मा एपेक नेपालले लिने घोषणा गरे । ‘यो एउटा ऐतिहासिक र महत्वपूर्ण काम हुनेछ, एपेक नेपाल तीसको दशकका कविहरुलाई एकै ठाउँमा पढ्न सकिने गरि कृति प्रकाशन गर्न तयार छ ।’ कवि श्रेष्ठले भने ।
कार्यक्रम निकै फलदायी भएको सहभागी कविहरुले प्रतिक्रिया दिएका छन् । ‘यस भेलामा कवितालेखनबारे धेरै नै सार्थक चर्चाहरु भए ।’ सहभागी कवि अविनाश श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् । यसैगरि क्यानाडाबाट आएर कार्यक्रममा सहभागीता जनाएका कवि तथा कलाकार गोविन्दसिंह रावतले तीसको दशकको योगदान बारे विचार विमर्श गर्दै आयोजित कार्यक्रम कोशेढुंगा भएको टिप्पणी गरेका छन् ।
FACEBOOK COMMENTS