काठमाडौं । नेपाली कांग्रेसले वडा तहबाटै चुनावी प्रतिष्पर्धाबाट पार्टीका विभिन्न पदमा नेतृत्व चयन गरिरहँदा मुलुकका दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले भने ‘सहमति’ मै दलका अधिकांश समितिहरू छानेका छन्।
पार्टी एकताका नाममा एमालेले र नेताभन्दा नीतिप्रधान भन्दै माओवादीले आन्तरिक प्रतिष्पर्धालाई पूर्णतः निषेध गरे। यहीक्रममा पहिलोपटक प्रदेश १ मा माओवादी केन्द्रको प्रदेश अधिवेशन हुँदैछ। नेतृत्वमा दाबी गरिरहेका नेताहरू भने फेरि पनि सहमतिका नाममा नेताहरूले नै नेता छान्दिने भयले तर्सिएका छन्।
पार्टीको प्रदेश नेतृत्वमा दाबी गरिरहेका नेता कार्यकर्ताहरू फेरि त्यही ‘नीतिप्रधानता’ का नाममा प्रतिष्पर्धामा रोक लगाइने भयले गाँजिएका छन्।