काठमाडौं। कांग्रेस सभापतिमा महाधिवेशन सभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र डा. कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन्। समितिले उपसभापतिको मतपरिणाम बुधबार घोषणा गरेको थियो। खड्काले २ हजार १ सय २१ र गुरुङले १ हजार ९ सय ८ मत पाएका थिए। देउवा प्यानलका विजयकुमार गच्छदारले १ हजार ९ सय ६ मत पाए। गुरुङले गच्छदारभन्दा २ मत बढी पाएर जितेका हुन्। डा. कोइराला समूहका चन्द्र भण्डारीले १ हजार ५ सय ८०, सिंह प्यानलकी सुजाता कोइरालाले ६ सय ४४ मत पाइन्।
नयाँ अनुहार देख्ने कार्यकर्ताको चाहनाअनुसार महाधिवेशनबाट मिश्रित नतिजा आएको नेताहरू बताउँछन्। उपसभापतिमा पराजित भण्डारी भन्छन्, ‘रूपान्तरण नेतृत्वमा देख्न चाहेको रहेछन् भन्ने देखियो। सभापतिको प्रतिस्पर्धामा सम्मानजनक नतिजा आउनुले पनि अब पार्टीमा प्यानल र गुट प्रभावहीन भइसके भन्ने सन्देश पनि प्रवाह भएको छ। अब क्षमतावान नेतृत्व पार्टीमा चाहिन्छ भन्ने जनतामा छ। कांग्रेसमा व्यावहारिक रूपमा पनि यो लागू भयो।’
कांग्रेसले १४औं महाधिवेशनदेखि मात्रै उपसभापति पदमा निर्वाचित भएर आउनुपर्ने प्रणाली सुरु गरेको हो । यसअघि सभापतिले आफूले चाहेको व्यक्तिलाई उपसभापति बनाउने वैधानिक व्यवस्था थियो। यसपटक भने सामूहिक नेतृत्व प्रणाली आवश्यक भएको भन्दै कांग्रेसले उपसभापति पदमा पनि निर्वाचन गरेको हो। उपसभापतिमा निर्वाचित खड्काले २०४५ सालदेखि सक्रिय राजनीति गर्दै आएका छन्। उनी १३औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए। देउवाले २०७५ मा महामन्त्रीमा मनोनीत गरेका थिए।
पछिल्ला दुई वर्षदेखि उनी देउवाका ‘विशेष दूत’को भूमिकामा देखिएका छन्। उनी ०४८ मा सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। ०५१ को मध्यावधि चुनाव जितेपछि राज्य व्यवस्था समितिका सभापति बने। खड्काले गृह, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, संस्कृति, वातावरण र उद्योग वाणिज्यमन्त्री भएर काम गरिसकेका छन्।
अर्का नवनिर्वाचित उपसभापति गुरुङ नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा लिएर उम्मेदवार बनेका थिए। उनी विद्यार्थी राजनीतिबाट पार्टीमा आएका हुन्। निर्वाचित भएपश्चात् गुरुङले भने, ‘मेरो मुद्दाले सार्थकता पाएको महसुस भएको छ। अब पार्टी नयाँ रफ्तारमा अघि बढ्छ। उनी १२औं र १३ औं महाधिवेशनबाट आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका थिए। उनी पार्टीमा तेस्रो पुस्तामा गनिन्छन्। उनले १४औं महाधिवेशनको तयारीका क्रममा महामन्त्रीमा दाबी गरेका थिए। उनी ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाए।
४५ वर्षीय थापा नेपाल विद्यार्थी संघको महामन्त्री भएको १० वर्षमै पार्टीको महामन्त्री बनेका हुन्। उनी ३१ वर्षको उमेरमा सांसद बने। ३४ वर्षमा पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए। ०७० र ०७४ मा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भए।
महामन्त्रीमा निर्वाचित भएपछि थापाले सञ्चारकर्मीसँग भने, ‘मैले पाएको मतको सम्मान गर्दै अब म थाक्न र पछि हट्न पाउँदिनँ। आजैदेखि मेरो परीक्षा सुरु भएको छ। अझै जिम्मेवार ढंगले म अघि बढ्छु।’
थापाका बारेमा विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘गगन पब्लिक लिडर हो। यसकारण उहाँलाई एकपटक कार्यकर्ताले परीक्षण गर्न चाहेका छन्। महामन्त्री पद उहाँका लागि पार्टीको राजनीतिमा टर्निङ प्वाइन्ट हो।’ महामन्त्रीमै निर्वाचित शर्मा विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएका हुन्। शर्मा २०४० सालमा कक्षा ८ मा अध्ययन गर्दा नै नेपाल विद्यार्थी संघ (नेविसंघ) धुलाबारी स्कुलको सभापति बनेका थिए। २०५३ मा संघका महामन्त्री बने। २०५७ मा संघका सभापति नै बने। २०७० र २०७४ को निर्वाचनमा पराजित भए। उनी २०७२ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए। देउवाले २०७४ मा पार्टी प्रवक्ताको जिम्मेवारी सुम्पिए।
महामन्त्री निर्वाचित भएपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले भने, ‘पार्टीमा रूपान्तरणको मुद्दा ल्याएका थियौं। अहिलेको महाधिवेशनले नेतृत्व रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ। अब हामी बैचारिक रूपान्तरणतर्फ लाग्छौं।’
शर्मालाई नजिकबाट चिन्ने नेता एनपी साउद भन्छन्, ‘हामी एउटै टिममा बसेर लामो समय काम गरेका छौं। उहाँलाई सधैं केही न केही नयाँ गरु भन्ने हुटहुटी लागेको देख्छु। अब साँच्चिकै काम गर्ने स्थानमा पुग्नुभएको छ। के कति गर्न सक्नुहुन्छ। जुझारु टिम आएको छ। काम गर्ने वातावरण मिल्ला।’ कांग्रेसमा यसपटक सभापतिसहित १ सय ३४ पदमा निर्वाचन भएको छ। नतिजा आउने क्रम जारी छ। सभापतिपछि उपसभापति हुँदै महामन्त्री पदको मतगणना गरिएको थियो। यसैबिच महामन्त्रीमा पराजित भएलगत्तै डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। पार्टीमा आफ्नो राजनीतिक पुँजी नभएकाले मन्त्री पदबाट राजीनामा दिएको डा. रिजालले बताए। उनले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका थिए। उनले राजनीतिक सम्पत्ति गुमाएको महसुस भएको पनि उल्लेख गरे।
यसैबीच सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन्। उपाध्यायले देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन्। आदिवासी जनजातितर्फ देउवा समूहकै भीष्मराज आङदेम्बे निर्वाचित भएका छन्। दलिततर्फ भने डा. कोइराला टिमका जीवन परियार विजयी भएका छन् भनि आजको अन्नपूर्ण पोस्टले लेखेको छ ।
FACEBOOK COMMENTS