काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ ।
शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने आज (आइतबार) बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ । सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ ।
स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भने, ‘सबै प्रक्रिया पूरा भएकाले महाधिवेशन नै बनाऔँ भनेर स्थायी समितिको आजको आकस्मिक बैठकमा प्रस्ताव आएको छ । आइतबार केन्द्रीय समितिमा प्रस्ताव जान्छ । केन्द्रीय समितिले त्यसलाई पारित गरेमा यो आठौँ महाधिवेशनमा बदलिन्छ ।’ शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो ।
महाधिवेशनको उद्घाटन आज हुँदै छ । चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदै छ । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ ।
महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ । महाधिवेशन नयाँ नेतृत्व, विचार र राजनीतिक कार्यदिशा तय गर्ने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमाथि छलफल र बहस गरी नयाँ विचार र कार्यदिशा निर्माण गरिने उनको भनाइ छ ।
जनयुद्धदेखि खुला राजनीतिसम्मका कमीकमजोरीका विषयमा आत्मसमीक्षासहित नयाँ कार्यदिशा निर्माण गरिने भएको छ । शनिबार साँझ बसेको स्थायी समितिको बैठकले प्रतिनिधिबारे छलफल गरे पनि टुङ्गो लगाएको छैन । आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउने भएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS