विराटनगर । मोरङ व्यापार संघमा आवद्व व्यवसायीहरूले सरकार र राष्ट्र बैंकको नीतिका कारण व्यापारीहरू मारमा परेको गुनासो गरेका छन् ।
बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भइ व्यापार सङ्कटमा परेको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताएका छन् । बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीका लागि ताकेता लगाउँदा व्यापारीहरू हतोत्साहित भएको उनको भनाइ छ ।
‘बैंकहरू राष्ट्र बैंकको कारवाहीको ब्ल्याकमेल गर्दै कर्जाको ब्याजदर बढाइरहेका छन् भने सावाँ ब्याज भुक्तानीको लागी ताकेता लगाइरहेका छन् । सरकार र राष्ट्र बैंकको नीतिले व्यापार व्यवसाय चौपट छ, बैंकले पैसा तिरेन भने राखेको धितो लिलामीको प्रक्रिया अघि बढाइ हाल्छन,’ नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मोरङ व्यापार संघसँग गरेको छलफल संघका अध्यक्ष मुन्दडाले भने ।
नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागू गरेपछि बैंकहरूमा तरलता समस्या भित्रिएको हुँदा सो नीतिलाइ संसोधन तथा परिमार्जन गरी कार्यान्वयन गराइनु पर्ने उनको माग छ ।
‘राष्ट्र बैंकले नै तरलता सङ्कुचन गर्ने नीति लागू गर्दा अहिले समस्याले उग्र रूप लिएको छ । यस्तो सङ्कट हुन सक्छ भनेर हामीले राष्ट्र बैंकलाई तीन महिनाअघि नै सचेत गराएका थियौं तर गभर्नरले केही हुँदैन चिन्ता नलिनुस् समस्या भए हामी छौं भन्नु भएको थियो । अहिले समस्याले उग्र रूप लियो तर उहाँहरू नीतिगत कडाइ गर्नै व्यस्त हुनुहुन्छ,’ उनले भने ।
बैंकहरूलाइ २०७९ असार मसान्तसम्म ९० प्रतिशत सीडी रेसियो कायम गरिसक्न निर्देशन भएकाले बैंकहरूले कर्जा रोकेको हुँदा, यसलाई क्रमिकरूपमा तीन वर्षभित्र लागू गर्नुपर्ने र यस्तो रेसियो गणनामा बैंकलाई पूँजी जोड्न नदिए पनी रिजर्भ जोड्न दिनुपर्ने मुन्दडाको माग छ । तरलता सङ्कट भएको समय ल्याइएको सीडी रेसियोकै कारणले व्यापारीहरूले बैंकबाट फाइनान्सियल सपोर्ट पाउन नसकेको अवस्थामा राष्ट्र बैंकले पछिल्लो पटक आयातमा गरेको नियमनले व्यापार बन्द नै हुने उनको भनाइ छ ।
‘तरलता सङ्कट भयो भनेर आयात रोक्न शतप्रतिशत मार्जिन राख्नु पर्ने निर्देशन दिइएको छ, यो नीतिले व्यापार नै ठप्प बनाउने भयो । समस्या हुने थाहा हुँदाहुँदै पहिले सुपारी, ल्वाङ, मरिचको आयात किन खुल्ला गर्नु ? पैसा हुनेले मात्रै व्यापार व्यवसाय गर्न सक्ने र उत्पादन र रोजगारी कटौती गर्ने निति राष्ट्र बैंकले अहिले लिएको छ,’ अध्यक्ष मुन्दडाले भने, ‘अहिले एक्कै पटक आयातमा कडाइ गर्दा सबै भन्दा उद्योगी, व्यवसायी समस्यामा परेका छौं ।’ राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई मारमा पारेर बैंकलाई मात्रै नाफा कमाउने नीति लिएको उनको आरोप छ ।
व्यवसायीहरूका अनुसार असक्षम बैंकहरूले प्रतिस्पर्धा गरि नाफा बढाउन ब्याजदर बढाउँदै निक्षेप बटुलेर जति भन्यो त्यति कर्जा दिए, अहिले ती नै बैंकले गर्दा तरलता सङ्कट भएको हो । ठूला सक्षम बैंकले ब्याजदर वा कर्जा दिन अस्वस्थ प्रतिस्पर्धा गरेका छैनन् । राष्ट्र बैंकले नियम विपरीत काम गर्ने कमजोर बैंकलाई कारवाही गर्ने र अन्य बैंकमा मर्जर गराउने गर्नु पर्छ र ६ प्रतिशत निक्षेपको र ९ प्रतिशत कर्जाको ब्याजदर कायम गर्न सक्नु पर्छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS