काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने भएको छ ।
सरल कर्जा प्रवाह गर्न बैंक र बोर्डबीच आज मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दुई वर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरूलाई बोर्डको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकले अधिकतम १५ लाख रूपैयाँसम्म कर्जा प्रवाह गर्ने छ । बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौतामा उल्लेख छ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.५१ प्रतिशत छ । सम्झौता अनुसार बोर्डको कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात दुवै पक्ष लाभान्वित भई बोर्डका कर्मचारीहरूको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले विद्यार्थीहरूले बोर्डलाई बुझाउने शुल्कहरूलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुबै संस्था मिलेर अगाडि बढ्ने बताए । त्यस्तै बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबीचको लामो सम्बन्धलाई व्यावहारिक र वस्तुपरक बनाउँदै लैजाने बताएका छन् ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र बोर्डका लेखा नियन्त्रक राजु कार्कीले कार्यक्रमको विषयवस्तुबारे स्पष्ट पारेका थिए ।
राष्ट्रिय वाणिज्य बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम मेशिन र ९८ वटा शाखारहित बैंकिङ्ग उपलब्ध छ ।
FACEBOOK COMMENTS