काठमाडौं । नेपाल कृषि मेशिनरी संघ (एनएएमईए) ले ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८’ माघ ५ गतेदेखि आयोजना गर्ने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र संघको संयुक्त आयोजनामा चितवनको भरतपुरमा प्रदर्शनी आयोजना गर्न लागिएको संघका अध्यक्ष महेन्द्र प्रसाद कँडेलले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरपालिका, चितवन एक्स्पो सेन्टरको हलमा पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ को आयोजना गर्न लागिएको हो ।
संघले कृषकहरुलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर, बाँके, नेपाल एग्रीटिच इन्टरनेशनल एक्स्पो, २०१७ काठमाडौंको भृकुटीमण्डपमा, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवनमा भएको थियो ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिने आगामी प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यावसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने बताइएको छ ।
नेपालको विभिन्न क्षेत्रमा कृषि यान्त्रीकरणसम्बन्धी व्यवसाय गर्दै आएका व्यावसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ २०७१ सालमा संघ स्थापना भएको थियो ।
प्रदर्शनी ५ गते देखी ८ गतेसम्म सञ्चालन हुने छ ।
एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारे जानकारी गराउने, नीतिनिर्माता, पेशागत समूह, अनुसन्धाता, कृषकलगायत सरोकारवालाहरुलाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जनकारी गराउने, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुऱ्याउने, कृषि यान्त्रीकरण व्यवसायी र कृषकबीच कार्यगत समन्वय गर्ने र लगानीको अवसर सृजना गर्ने पाँचौं प्रदर्शनीको मुख्य उद्देश्य छ ।
FACEBOOK COMMENTS