वीरगञ्ज । वैदेशिक व्यापार सहजीकरणका लागि वीरगञ्जमा सञ्चालित पूर्वाधारको क्षमता विस्तार गर्न जग्गा अधिग्रहणका लागि दोस्रो चरणको मुआब्जा बितरण शुरू भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाहबीचको ६२ बिघा जग्गाको मुआब्जा वितरण थालेको हो । यी दुई संरचनाको बीचमा रहेको जग्गा अधिग्रहण गरेर पूर्वाधार बढाउने योजना सरकारले राखेको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ मा १ अर्ब रुपैयाँ थप बजेट निकासा गरेपछि दोस्रो चरणको मुआब्जा बाँड्न शुरू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । गत आव २०७७÷७८ मा डेढ अर्ब रुपैयाँ बाँडिएको थियो ।
त्यतिबेला स्थानीय ५२ जना जग्गाधनीलाई १७ बिघा जग्गाको मुआब्जा भुक्तानी गरिएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा। लालबहादुर खत्रीले जानकारी दिए । अर्थ मन्त्रालयले आव २०७२÷७३ मा जग्गा अधिग्रहणको प्रस्ताव गरेको थियो ।
योजना ५ वर्ष ढिला कार्यान्वयनमा गए पनि गति लिन सकेको छैन । बन्दरगाह सञ्चालनमा आएको १७ वर्ष बितिसकेको छ । यसबीचमा आईसीपीबाट आयातनिर्यात हुन थालेको ४ वर्ष पूरा भएको छ । सरकारले यी पूर्वाधार र त्यहाँका निकायलाई आपसमा गाभ्ने योजना बनाएको छ ।
यी संरचनाको बीचमा रहेको जग्गा सरकारी स्वामित्वमा ल्याएर पूर्वाधार विस्तारको योजनाले अपेक्षित गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । स्थानीय स्तरमा अधिग्रहणको प्रक्रिया अघि बढाउने नेतृत्व सुक्खा बन्दरगाह भन्सारले गरिरहेको छ ।
२०७२ सालमा जग्गाको मुआब्जा ७२ करोड रुपैयाँ अनुमान गरिएको थियो । प्रक्रियागत आलटालले मुआब्जामा मात्रै अर्बौ रुपैयाँ खर्च हुने देखिएको छ ।
दोस्रो चरणमा निकासा भएको रकम मुआब्जाका लागि पर्याप्त नहुने प्रमुख भन्सार अधिकृत खत्री बताउँछन् । ‘यति रकमले मात्रै पुग्दैन । यो वर्ष आएको रकम बाँड्छौं । अर्को वर्ष फेरि निकासा भएपछि बाँकीलाई मुआब्जा दिइन्छ,’ उनले भने ।
सकेसम्म चाँडो मुआब्जा दिएर विस्तार गर्ने प्रयास भइरहेको पनि खत्रीले बताए । मुआब्जाका लागि मात्रै कम्तीमा अझै ३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान भन्सार अधिकारीहरूको रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS