काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीमाथि पाँडेगाली बर्साएका छन् ।
पर्यटन बोर्डको स्थापना दिवसमा आज शुक्रबार आयोजना गरिएको कार्यक्रममा मन्त्री आलेले सीईओ रेग्मीलाई तल्लो स्तरको गालीगलौज गर्दै आक्रोश व्यक्त गरेका हुन् ।
मन्त्री आलेले सीईओ रेग्मीलाई ‘साँढे’ भएको टिप्पणी गर्दै विभिन्न प्रसङ्गमा गाली गरेका हुन् । सीईओ रेग्मीले आफूलाई जबर्जस्ती लण्डन लगेको, लण्डन लगेर खान तथा बस्नको राम्रो प्रबन्ध नगरेको तथा मन्त्रीको हैसियतमा आफूलाई कुनै सम्मान नगरी अपमान गरेको मन्त्री आलेको भनाइ छ ।
‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले । लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले सीईओ रेग्मीमाथि गालीको वर्षा गर्दै भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सीईओ बनाएर बोर्ड चल्दैन ।’
हालै लण्डनमा आयोजित विश्व पर्यटन मेलामा सीईओ रेग्मीका कारण नेपालकै बेइज्जत भएको मन्त्री आलेको भनाइ छ । आफ्नो अपमानलाई उनले इमान किन्न खोजेको आरोप समेत लगाएका छन् ।
उनले आफूलाई कसैले प्रलोभनमा पारेर बिकाउन नसक्ने समेत बताएका छन् । तर, मन्त्री स्वयम्लाई भने पार्टीका नेताहरूलाई आर्थिक प्रलोभनमा पारेर बारम्बार मन्त्री बन्दै आएको आरोप लाग्ने गरेको छ ।
FACEBOOK COMMENTS