काठमाडौं । असनको कमलाक्षीमा अवस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा समेत देखिएको तथा त्यसबाट हुनसक्ने स्वास्थ्य जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आज शुक्रबार साधारणसभा सम्पन्न गरिएको संस्थाले बताएको छ ।
संस्थाका अध्यक्ष शंकर बस्नेतको अध्यक्षतामा कार्यालय परिसमै सम्पन्न साधारणसभाले अध्यक्ष बस्नेत र लेखा सुपरीवेक्षण समितको तर्फबाट प्रस्तुत भएको दुईवटै प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै साधारणसभाले प्रबन्ध सञ्चालक उमेश खड्काले प्रस्तुत गरेको वार्षिक कार्यक्रम तथा बजेट प्रतिवेदन पनि पारित गरेको बताएको छ ।
अध्यक्ष बस्नेतले विश्वव्यापी महामारीको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सतर्कतापूर्वक उपस्थित शेयर सदस्यलगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । त्यस्तै संस्थाका प्रबन्ध सञ्चालक उमेश खड्काले संस्थालाई सफल बनाउन शेयर सदस्यहरूले देखाएको सक्रिय भूमिकाको प्रशंसा गर्दै सुभेच्छुकहरूको सुझाव, सहयोग र सहभागिताबाट नै संस्थाको लक्ष्य र उद्देश्य पूरा हुने विश्वास व्यक्त गरे ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ६५ लाख ६३ हजार ९०० रूपैयाँ शेयर पूँजी पुर्याएको सहकारीले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा १९ करोड ९४ लाख ९९ हजार ३५३ रूपैयाँ बचत सङ्कलन गरेको जानकारी दिएको छ । संस्थाले चालू आर्थिक वर्षमा बचत सङ्कलनलाई २५ करोड पुर्याउने लक्ष्य राखेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा भएका ऋण लगानी तथा अशुलीसमेत गरी २०७८ को असार मसान्तसम्म २५ करोड ६५ लाख ६५ हजार रूपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । आफ्ना सदस्यहरूको मागबमोजिम संस्थाको तरलता व्यवस्थापन गर्न सहकारीले नेफ्स्कुनबाट समेत ऋण सापटी लिएर सदस्यहरूको आवश्यकता पूर्ति गर्दै आएको पनि बताएको छ ।
कर्जा जोखिम व्यवस्थाअन्तर्गत जोखिम व्यहोर्ने कोषमा १ करोड ५ लाख ५२ हजार रूपैयाँ पुर्याएको सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ४६ लाख १३ हजार रूपैयाँ नाफा कमाएको छ । आगामी आर्थिक वर्षमा सहकारीले नाफा रकम ६० लाख रूपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
संस्थाले उपलब्ध गराउने सेवालाई छिटोछरितो, पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउन अत्याधुनिक सफ्टवेरको प्रयोग गरेको, लेखा प्रणालीलाई स्तरीय बनाउन ‘पीईएआरएलएस’ अनुगमन प्रणाली अपनाएको, विद्युतीय भुक्तानी सेवा र रेमिट्यान्स सेवालाई जारी राखेको पनि साधारणसभामा जानकारी दिएको छ ।
त्यस्तै संस्थाले आफ्नो सेवालाई थप प्रविधिमैत्री बनाउने उद्देश्यका साथ मोबाइल तथा एसएमएस बैंकिङजस्ता सुविधासहितको सेवा उपलब्ध गराउने तयारी गरिरहेको समेत जानकारी दिइएको छ ।
FACEBOOK COMMENTS