काठमाडौं । सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९)को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मा नेपालमा कुल १ लाख ५० हजार ९६२ पर्यटक आएका छन् । सन् २०२० मा भने नेपालमा आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ थियो । सन् २०१९ अर्थात् कोरोना भाइरसपूर्वको वर्षमा भने नेपालमा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को शुरूमै देखिएको कोरोना भाइरसको प्रभाव हालसम्म कायमै छ ।
कोरोना कालका यी वर्षका बीचमा कोरोनाविरुद्धको खोप लगाएका कारण र हवाई यातायात पनि खुलाएका कारण यो वर्ष पर्यटक बढ्ने आकलनका बीच गतवर्षको भन्दा पनि कम पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकअनुसार गतवर्ष नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै सार्क मुलुकका छन् । सन् २०२१ म बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ७१ हजार ६१० जना पर्यटक नेपाल आएका छन् ।
सार्कका यी मुलुकमध्ये पनि सबैभन्दा धेरै भारतबाट ६४ हजार ६७३ पर्यटक नेपाल आएका छन् । सबैभन्दा कम भने भुटानबाट जम्मा ३४४ जना नेपाल आएका छन् । सार्क मुलुकपछि दोस्रोमा यूरोपेली देशहरूका नागरिक आएका छन् । यूरोपको फ्रान्स, इटली, स्पेन बेलायत, जर्मन, डेनमार्कलगायत देशबाट सन् २०२१ मा २५ हजार ३०५ जना नेपाल भ्रमणमा आएका छन् । यूरोपेली देशमध्ये बेलायतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
यो देशबाट नेपालमा आउने पर्यटकको संख्या ८ हजार ६८० रहेको छ । यस्तै जर्मनीबाट २ हजार ९३१ जना, फ्रान्सबाट २ हजार ८२९ जना र सबैभन्दा कम नर्वेबाट २७२ जना आएका छन् । यस्तै अमेरिकी मुुलुक क्यानडा र अमेरिका दुई देशबाट नै नेपालमा २५ हजार २९१ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये अमेरिका ९यूएसए० बाट २२ हजार ८५३ जना पर्यटक नेपाल भ्रमणमा आएका आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS