काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५औं वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेको छ ।
विभिन्न सामाजिक कार्यहरू गरेर बैंकले आफ्नो वार्षिकोत्सव मनाएको छ । सो क्रममा आज बैंकले एकैसाथ ३२ वटा शाखा सञ्चालनमा ल्याएको छ । ती शाखाहरूको विद्युतीय माध्यमबाट केन्द्रीय कार्यालयबाटै उद्घाटन गरिएको बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ३ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरू औपचारिकरूपमा सञ्चालनमा ल्याएको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेको बैंकले जानकारी दिएको छ ।
उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीहरू र शाखा प्रबन्धकहरूको उपस्थिति थियो ।
साथै, बैंकले देशका सात वटैै प्रदेशका क्षेत्रीय तथा शाखाहरूमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू गरेको छ, जसमध्ये, विद्यालयमा स्टेशनरीका सामग्रीहरू तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरूमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम पनि सञ्चालन गरेको छ । त्यस्तै विद्यार्थीहरूलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग समेत बैंकले गरेको छ ।
यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरूले वृहत् रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालय र पोखरा क्षेत्रीय कार्यालयमा वृहत् रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ ।
उक्त कार्यक्रमबाट कुल २०२ पिन्ट रगत सङ्कलन गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले वार्षिकउत्सवको अवसरमा गरेको सामाजिक कार्यहरूमा १० लाख रूपैयाँ खर्च गरेको पनि बताएको छ ।
FACEBOOK COMMENTS