काठमाडौं । नेपाल हस्तकला महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष एवम् आगामी नयाँ कार्यसमिति निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका किरण कुमार डङ्गोलले हस्तकला क्षेत्रको समग्र विकास र उत्पादित वस्तुको निर्यात प्रवर्द्धन आफ्नो मुल एजेण्डा भएको बताएका छन् ।
हस्तकला महासंघले ५० वर्षे इतिहास बनाएको भए पनि हस्तकला क्षेत्रले जुन फड्को मार्नुपर्ने हो त्यो हुन नसकेको बताउने डङ्गोल उत्पादिन वस्तुको निर्यातको अवस्था पनि सन्तोषजनक नरहेको बताउँछन् । करीब ९ अर्ब रुपैयाँको निर्यात र सोही परिमाणको स्थानीय बजार ओगटेको हस्तकला क्षेत्रमा ११ लाख भन्दा धेरै मानिसहरूले प्रत्यक्ष वा परोक्ष रूपमा रोजगारी गरिरहेको उनको भनाइ छ ।
हस्तकला क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण अझै स्पष्ट नभइसकेको बताउँदै उनले आफ्नो कार्यकालमा सरकार र सरोकारवालाहरूसँग अधिकतम सहकार्य गरी महासंघ र सरोकारवाला सरकारी निकायबीचको सम्बन्ध सुमधुर बनाउँदै हस्तकला सामग्रीको निर्यात बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विगत २८ वर्षदेखि महासंघको सदस्य रहेका डङ्गोल १४ वर्षयता कार्यसमितिमा रहँदै वरिष्ठ उपाध्यक्ष समेत भएर महासंघको कार्यसम्पादन गरेको अनुभव हासिल गरिसकेका छन् ।
हस्तकला समृद्धिको साथी भएको बताउँदै यो क्षेत्रको दीगो विकासमा सरकार, सरोकारवाला निकाय र सम्पूर्ण व्यवसायीहरू एकजुट भएर लाग्नुपर्नेमा उनको जोड छ । उनले हस्तकला क्षेत्रका कलाकार, कालीगढ र व्यवसायीहरूको दीगो विकास र प्रवर्द्धनका कार्यक्रमहरूको निरन्तरता दिँदै थप नयाँ कार्यक्रमहरूको पहिचान गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मौलिक पहिचान बोकेको तथा विदेशी मुद्रा आर्जनको माध्यम बनिरहेको हस्तकला क्षेत्रलाई सरकारले उचित महत्व नदिएको गुनासो उनको छ । हस्तकला क्षेत्रको मेरुदण्डका रूपमा रहेका कलाकारहरूको पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हस्तकला क्षेत्रभित्र देखिएका विभिन्न समस्याहरूलाई एकैठाउँमा राखेर समाधान खोज्नुपर्ने वर्तमान चुनौतीकाबीच आफूले अध्यक्ष पदमा उम्मेवारी दिएको र मतदाता तथा प्रतिनिधिहरूको विश्वास आर्जन गरेको खण्डमा अधिकतम समस्याहरूको पूर्णरूपमा हल गरिने जिकिर उनले गरे । हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनमा आफ्नो समूहले नै प्रभावकारी ढङ्गबाट काम गर्ने भनाइ डङ्गोलको छ ।
समृद्ध नेपालको एउटैमात्र आधार हस्तकला क्षेत्र भएको दाबी गर्दै उनले कालीगढहरूले बनाएको सामानको बजारीकरण र व्यवस्थापन हुन नसक्दा कलाकारहरू पलायन भइरहेको अवस्था विद्यमान रहेकाले त्यसलाई रोकिने बचनबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै सबै प्रदेशमा हस्तकला ग्राम खोल्न पहल गर्ने, प्रदर्शनी हलको प्रबन्ध गरी उत्पादित वस्तुहरूको नियमित प्रदर्शनी गरिने र थप रोजगारी सृजना गर्दै जाने पनि उनको भनाइ छ । साथै सरकारले व्यवसायीलाई सहज ढङ्गले ऋण उपलब्ध गराउने वातावरण निर्माण गरिदिनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।
महासंघको ४१औं साधारणसभाअन्तर्गत भोलि शनिबार ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । महासंघको साधारणसभा आज शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की बैंकेटमा जारी छ ।
यो पनि पढ्नुहोस्– नेपालको पहिचान र मौलिकता बोकेको हस्तकलालाई प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायीहरूको जोड (भिडियोहरूसहित)
यस्ता छन् अध्यक्ष पदका उम्मेदवार डङ्गोलको प्रतिबद्धताहरू–
FACEBOOK COMMENTS