काठमाण्डौँ — कलिङ (प्रवेश) भिसा प्राप्त गरेर १० महिनादेखि रोकिएका करिब ७ हजार नेपाली कामदार मलेसिया जान पाउने भएका छन् ।
वैदेशिक रोजगार विभागले आइतबार मलेसियाको गृह मन्त्रालयबाट गत जेठमा जारी कलिङ भिसा प्राप्त कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।
वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंस्थित मलेसियाली दूतावासबाट कलिङ भिसा स्वीकृत गराउने जिम्मेवारी लिएपछि विभागले श्रम स्वीकृति दिएको हो ।
विभागले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयलाई श्रम स्वीकृति दिन आइतबारै पत्र पठाएको विभागका प्रवक्ता भोलानाथ गुरागाईंले बताए ।
द्विपक्षीय श्रम समझदारी भएलगत्तै दुई देशका अधिकारीबीच सम्पन्न पहिलो प्राविधिक बैठकमा नेपालले कलिङ भिसा पाएका कामदारलाई श्रम स्वीकृति दिने र मलेसियाले म्याद सकिएको कलिङ भिसालाई नवीकरण गर्ने सहमति गरेको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS