काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका सबैलाई निर्वाचन सकिएको मितिले ३० दिन भित्र खर्चको विवरण पेश गर्न ध्यानाकर्षण गरेको छ। आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्नसमेत आग्रह गरेको छ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएबमोजिम हुने, दल वा उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिएबमोजिम राख्नुपर्ने, कुनै दल वा उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च तोकिएको खर्चको रकमको हदभन्दा बढी हुन नहुने लगायतका विषयहरु स्मरण गराएको हो ।
आयोगले आज विज्ञप्ति जारी गरी ऐनको दफा २५ को उपदफा (२) मा त्यस्तो खर्च सम्बन्धमा आयोगले मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराउन सक्ने व्यवस्था रहेको सन्दर्भमा निर्वाचन प्रचार प्रसारको सम्बन्धमा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै सङ्कलन गर्दा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएपछि पेश गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने स्पष्ट पारेको छ ।
FACEBOOK COMMENTS