काठमाडौं । नवौं राष्ट्रिय खेलकुका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले लोगो मस्कट र नारा सार्वजनिक गरेको छ।
पोखरामा जेठ २२ गतेदेखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा प्रयोग हुने लोगो, मस्कट र नाराका लागि राखेपले उचित पुरस्कारको समेत व्यवस्था गर्दै सार्वजनिक सूचना जारी गरेको थियो। जसमध्ये कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।
लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको राखेपले जानकारी दिएको छ।
गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।
सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।
FACEBOOK COMMENTS